न्यु जर्सीमा अत्यधिक चिसोको असर, नर्सिङ होमका बासिन्दा सारिए
- २० माघ २०८२
- १ मिनेटको पढाई
न्यू जर्सी- न्यू जर्सीमा अत्यधिक चिसोका कारण एउटा नर्सिङ होम (वृद्धाश्रम) नै खाली गर्नुपर्ने अवस्था आएको छ। ओसियन काउन्टीमा रहेको ‘व्हिटिङ गार्डन्स रिह्याबिलिटेसन एण्ड नर्सिङ सेन्टर’ मा चिसोले पाइपहरू जमेर स्प्रिंकलर सिस्टम बिग्रिएपछि यो आपत् आएको हो।
प्रहरीका अनुसार, त्यहाँ कति मानिस थिए भन्ने यकिन संख्या त आएको छैन, तर ६० जनाभन्दा बढी वृद्धवृद्धा प्रभावित भएको अनुमान छ। मंगलबार बिहान ७ बजेदेखि नै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
पछिल्ला केही दिनदेखि अमेरिकाको यो क्षेत्रमा ‘आर्कटिक ब्लास्ट’ (ध्रुवीय चिसो हावा) चलेको छ, जसले गर्दा न्यूयोर्कमा मात्रै १४ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। मंगलबार तापक्रम अलिकति सुध्रिएर ३० डिग्री (फेरेनहाइट) को हाराहारीमा पुग्ने अनुमान छ, जुन गत हप्ताको तुलनामा केही राहत हो। मौसमविद्हरूले शनिबारदेखि फेरि अर्को डरलाग्दो चिसो हावा चल्ने र रातको तापक्रम ‘सिंगल डिजिट’ मा झर्ने चेतावनी दिएका छन्।