हिउँमा लडेर ७९ वर्षीय वृद्धको मृत्यु
- २१ माघ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- अमेरिकाको लङ आइल्याण्डमा अत्यधिक चिसोका कारण एक ७९ वर्षीय वृद्धको दुखद मृत्यु भएको छ। सोमबार बिहान ब्रुनो क्यास्ट्रो नाम गरेका ती वृद्ध आफ्नै अपार्टमेन्ट बाहिर हिउँमा लडेको अवस्थामा भेटिएका थिए।
बाल्डविनस्थित ग्रान्ड एभिन्युमा रहेको अपार्टमेन्ट पछाडि उनलाई देखेपछि मानिसहरूले एम्बुलेन्स बोलाएका थिए। उनलाई तुरुन्तै अस्पताल लगियो, तर डाक्टरहरूले मृत घोषणा गरे। यो घटना त्यतिबेला भयो, जतिबेला त्यहाँको तापक्रम अत्यधिक घटेर कठ्यांग्रिने जाडो थियो।
छिमेकीहरूका अनुसार, क्यास्ट्रोलाई हेरचाह गर्ने सहयोगी बेलुका ८ बजे घर जान्थे। त्यसपछि उनी एक्लै हिँड्न मन पराउँथे। छिमेकी सेडी मारियोले भनिन्, “उनी सधैँ चिठ्ठा किन्न कुनाको पसलसम्म जान्थे। सायद हिजो राति पनि त्यही गर्न निस्कँदा लडे र उठ्न सकेनन्।” उनलाई स्वास्थ्य समस्या पनि रहेको छिमेकीले बताएका छन्। अहिले नासाउ काउन्टीका मेडिकल टिमले मृत्युको यकिन कारण पत्ता लगाउन जाँच गरिरहेका छन्।