न्युयोर्क र न्यु जर्सीले हाले ट्रम्प प्रशासनविरुद्ध ‘मुद्दा’: १६ अर्ब डलर रोक्का हुँदा सुरुङ निर्माण संकटमा
- २१ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- हडसन नदी मुनि बन्दै गरेको रेल सुरुङको बजेट रोक्का भएपछि न्युयोर्क र न्यु जर्सी राज्यले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हालेका छन्। संघीय सरकारले १६ अर्ब डलर (करिब २१ खर्ब रुपैयाँ) बजेट रोकिदिएपछि यो ‘ड्रिम प्रोजेक्ट’ नै धरापमा परेको हो।
मंगलबार म्यानहटनको संघीय अदालतमा दायर गरिएको मुद्दामा तत्काल बजेट फुकुवा गर्न माग गरिएको छ। न्युयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्स र न्यु जर्सीकी जेनिफर डेभेनपोर्टले चेतावनी दिँदै भनेका छन्, “यदि अदालतले छिटो फैसला गरेन भने आउँदो शुक्रबारदेखि नै निर्माण कार्य ठप्प हुन सक्छ।”
किन रोकियो पैसा? ट्रम्प प्रशासनले गत सेप्टेम्बरमा ‘डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुजन’ को सिद्धान्त असंवैधानिक भएको र सरकारी ‘सटडाउन’ को कारण देखाउँदै यो बजेट रोक्का गरेको थियो। ह्वाइट हाउसका बजेट डाइरेक्टर रस भोटले त्यतिबेला भनेका थिए, “यो खर्च असंवैधानिक विधिमा आधारित छ।”
तर, यो सुरुङ नबन्दा लाखौँ यात्रु र अर्थतन्त्रलाई ठुलो धक्का लाग्ने अधिकारीहरूले बताएका छन्। यो आयोजनाले सन् २०१२ को ‘सुपरस्टर्म स्यान्डी’ ले बिगारेको ११६ वर्ष पुरानो सुरुङ मर्मत गर्ने र नयाँ सुरुङ बनाउने लक्ष्य लिएको छ। यसअघि सोमबार ‘गेटवे डेभलपमेन्ट कमिसन’ ले पनि सरकारविरुद्ध यस्तै मुद्दा दायर गरेको थियो।