न्युयोर्कका मेयर मामदानीको गभर्नर होचुललाई ‘ग्रीन सिग्नल’: चुनाव जित्न ‘विपरित ध्रुव’ को अनौठो मिलन
- २३ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कको राजनीतिमा एउटा रोचक मोड आएको छ। सहरका मेयर जोहरान मामदानीले गभर्नर क्याथी होचुललाई आगामी चुनावमा पुनः निर्वाचित गराउन औपचारिक रूपमा समर्थन गरेका छन्। बिहीबार उनले होचुलको पक्षमा उभिने घोषणा गर्दै डेमोक्रेटिक पार्टीभित्रका दुई विपरित विचार समूहबिचको दूरी घटाउने प्रयास गरेका हुन्।
मामदानी एक ‘प्रगतिशील’ र परिवर्तनकारी एजेन्डा बोकेका युवा नेता हुन् भने होचुल आफूलाई ‘मध्यमार्गी’ मान्छिन्। यी दुईबिच कर बढाउने लगायतका थुप्रै विषयमा मतभेद छ। तर पनि मामदानीले ‘द नेसन’ पत्रिकामा एक लेख लेख्दै भनेका छन्, “हाम्रा बिचमा असहमतिहरू छन्, तर गभर्नर होचुल इमानदार संवाद गर्ने र नतिजा निकाल्ने नेता हुन् भन्नेमा मलाई विश्वास छ।”
यो समर्थनले होचुललाई जुन महिनामा हुने पार्टीको आन्तरिक चुनावमा ठुलो राहत मिल्ने देखिन्छ। किनकि, उनका आफ्नै ‘लेफ्टिनेन्ट गभर्नर’ एन्टोनियो डेल्गाडोले उनीविरुद्ध बागी उम्मेदवारी दिएका छन्। डेल्गाडोले भने मामदानीको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै होचुलले जनतासँग गरेका वाचाहरू पूरा नगरेको आरोप लगाएका छन्।
उता रिपब्लिकन उम्मेदवार ब्रुस ब्लेकम्यानले भने यो गठबन्धनलाई डेमोक्रेटिक पार्टी ‘अतिवादी’ धारमा गएको प्रमाणका रूपमा व्याख्या गरेका छन्। गभर्नर होचुलले भने मामदानीको साथप्रति आभार व्यक्त गर्दै, “हामी डोनाल्ड ट्रम्पका आक्रमणविरुद्ध सँगै डटेर लड्नेछौँ” भनेकी छिन्। केही समयअघि मात्र मेयर मामदानीले न्युयोर्क सहर १२ अर्ब डलरको घाटामा रहेको बताएका थिए, जसलाई लिएर होचुलसँग उनको केही खटपट परेको थियो। तर, अहिले चुनावी मैदानमा भने दुवै एकै ठाउँमा उभिएका छन्।