२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्कले १४ वर्षपछि पायो नयाँ धर्मगुरु: ढोका ढकढक्याएर भित्र पस्दैछन् रोनाल्ड हिक्स

न्यूयोर्कले १४ वर्षपछि पायो नयाँ धर्मगुरु: ढोका ढकढक्याएर भित्र पस्दैछन् रोनाल्ड हिक्स

न्यूयोर्क- लामो समयपछि न्यूयोर्कका क्याथोलिक समुदायले नयाँ अभिभावक पाएका छन्। शुक्रबार एउटा विशेष र ऐतिहासिक समारोहबिच रोनाल्ड हिक्सले न्यूयोर्कको ‘आर्कबिसप’ को पदभार ग्रहण गर्दैछन्। यो न्यूयोर्कका लागि १४ वर्षपछिकै ठुलो धार्मिक परिवर्तन हो।

शुक्रबारको कार्यक्रम निकै परम्परागत र रोचक हुनेछ। हिक्सले सेन्ट प्याट्रिक क्याथेड्रल को बन्द ढोकामा तीन पटक ढकढक गर्नेछन्। विज्ञहरूका अनुसार यो क्याथोलिक परम्पराको एउटा महत्त्वपूर्ण हिस्सा हो, जसले नयाँ नेतृत्वको आगमनलाई संकेत गर्छ। ढोका खुलेपछि पोपको पत्र पढेर सुनाइनेछ र हिक्सले पहिलो पटक पूजा सञ्चालन गर्नेछन्।

को हुन् रोनाल्ड हिक्स? ५८ वर्षीय हिक्सले ७६ वर्षीय कार्डिनल तिमोथी डोलनको ठाउँ लिँदैछन्। डोलनले उमेर हदका कारण राजीनामा दिएका थिए, तर उनले यौन दुर्व्यवहारका पीडितहरूलाई क्षतिपूर्ति दिन ३० करोड डलरको कोष खडा गरेर आफ्नो कार्यकाल टुंग्याएका छन्।

रमाइलो कुरा के छ भने, अहिलेका पहिलो अमेरिकन पोप ‘लियो’ र हिक्स एउटै ठाउँ (शिकागो नजिकै) हुर्केका हुन्। हिक्सलाई पोप लियो जस्तै विचार बोक्ने नरम र सुधारवादी व्यक्तिका रूपमा हेरिएको छ। उनले एल साल्भाडोरमा ५ वर्ष काम गरेका छन् र आप्रवासीहरूको पक्षमा खुलेर बोल्छन्। उनले ट्रम्प प्रशासनको आप्रवासी नीति र छापा मार्ने कामको कडा विरोध गर्दै आएका छन्। अब उनले न्यूयोर्कका करिब २५ लाख क्याथोलिकहरूको नेतृत्व सम्हाल्नेछन्।