अमेरिकामा अब बाटो हिँड्दा पनि अनुहार स्क्यान ! अध्यागमनको नयाँ ‘जासुसी’ ले मान्छेहरू त्रसित
- २४ माघ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकामा अब बाटो हिँड्दा पनि कोही सुरक्षित छैन जस्तो देखिन थालेको छ। त्यहाँको अध्यागमनका एजेन्टहरूले अब हातमा स्मार्टफोन बोकेर सडकमा मान्छेहरूको अनुहार स्क्यान गर्न थालेका छन्। यो कुराले अहिले अमेरिकामा ठुलो हल्लिखल्ली मच्चिएको छ।
समाचार अनुसार, एजेन्टहरूले ‘मोबाइल फोर्टिफाइ’ भन्ने एउटा एप प्रयोग गरेर बाटोमा हिँड्ने जोकोहीको फोटो खिच्ने र स्क्यान गर्ने गरिरहेका छन्। अचम्मको कुरा त के छ भने, उनीहरूले शंका लागेका मान्छेको मात्र होइन, बाटोमा हिँड्ने सर्वसाधारण, रमिता हेर्नेहरू र अमेरिकी नागरिककै पनि अनुहार स्क्यान गरिरहेका छन्।
मिनियापोलिस, सिकागो र पोर्टल्यान्डजस्ता सहरमा यस्तो घटना धेरै देखिएको छ। कानुनका जानकार र अधिकारवादीहरूले यसलाई ‘नागरिकको स्वतन्त्रतामाथिको हमला’ भनेका छन्। उनीहरू भन्छन्– “सरकारले यसरी विना अनुमति बाटोमा मान्छेको अनुहार स्क्यान गरेर डाटा राख्नु डरलाग्दो कुरा हो।” कतिपयले त यसलाई तर्साउने मेलो मात्र भएको बताएका छन्।