ट्रम्पको चासोबीच अमेरिकी सांसदको टोली ग्रिनल्याण्ड जाँदै
- २४ माघ २०८२
- १ मिनेटको पढाई
नूक– अमेरिकी सांसदहरूको एउटा टोली यो साता ग्रिनल्याण्डको राजधानी नूक जाने भएको छ। नूकस्थित अमेरिकी वाणिज्यदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
यो भ्रमण ग्रिनल्याण्ड सरकारको निम्तोमा हुन लागेको हो। टोलीमा को–को सहभागी छन् भन्ने नाम खुलाइएको छैन। तर स्थानीय सञ्चारमाध्यमका अनुसार सिनेटर लिसा मर्कोव्स्की जाने सम्भावना छ।
मर्कोव्स्की हालै डेनमार्क गएकी थिइन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन चाहेको बताएपछि बढेको तनावबारे बुझ्न उनी त्यहाँ पुगेकी थिइन्।
भ्रमणका क्रममा अमेरिकी सांसदहरूले ग्रिनल्याण्डका स्थानीय अधिकारी, सांसद र व्यवसायीहरूसँग भेटघाट गर्नेछन्। ग्रिनल्याण्डका जनताको विचार बुझ्नु र दुई पक्षीय सम्बन्धबारे छलफल गर्नु भेटघाटको उद्देश्य हो।
यसैबीच, शुक्रबार फ्रान्स र क्यानडाले नूकमा आफ्ना वाणिज्यदूतावास खोलेका छन्। ग्रिनल्याण्डमा कूटनीतिक कार्यालय खोल्ने फ्रान्स युरोपेली संघको पहिलो देश बनेको छ। फ्रान्सले जाँ–नोएल पोइरियेलाई महावाणिज्यदूत नियुक्त गरेको छ।
क्यानडाको नयाँ कार्यालय उद्घाटनमा विदेश मन्त्री अनिता आनन्द र गभर्नर जनरल मेरी साइमन सहभागी थिए। साइमनले ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग पनि भेट्ने कार्यक्रम छ।
ग्रिनल्याण्ड डेनमार्कको स्वशासित क्षेत्र हो। तर यसको रक्षा र विदेश नीति डेनमार्कले नै हेर्छ। सन् २०२५ मा फेरि राष्ट्रपति बनेपछि ट्रम्पले ग्रिनल्याण्ड लिन चाहेको बताउँदै आएका छन्। तर युरोपेली देशहरूले यसलाई मानिरहेका छैनन्।