वरिष्ठ कलाकार सुनिल थापाको निधन
- २४ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं– नेपाली फिल्म क्षेत्रका चर्चित ‘भिलेन’ अर्थात् ‘राँते काइला’ का रूपमा चिनिने वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।
काठमाडौंको शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा शनिबार बिहान बेहोस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
अस्पतालमा रहेका कलाकार तुलसी घिमिरेले दिएको जानकारीअनुसार उनका छोराहरू भारतबाट आउँदै छन्। परिवारका सदस्य आएपछि मात्रै निधनको औपचारिक घोषणा गरिनेछ। अहिले अस्पताल परिसरमा आफन्त र शुभचिन्तकको भीड लागेको छ।
थापालाई फिल्म ‘चिनो’ को ‘राँते काइला’ पात्रले घर–घरमा चिनाएको थियो। उनले गोर्खा पल्टन, पापी मान्छे, देवर बाबु, र मेरी बास्सै जस्ता थुप्रै फिल्म र टेलिशृङ्खलामा अभिनय गरेका छन्। उनको पछिल्लो फिल्म ‘एक्लो’ हो।
नेपालमा मात्र नभई बलिउडमा पनि उनको राम्रो छवि थियो। सञ्जय लिला भन्सालीको ‘मेरी कोम’ मा गरेको अभिनयले उनलाई भारतमा पनि चर्चा दिलाएको थियो। खासमा उनले आफ्नो अभिनय यात्रा नै बलिउडको ‘एक दुजे के लिए’ बाट सुरु गरेका थिए।
सन् १९५७ मा जन्मिएका थापा एभरेस्ट फिल्म एकेडेमीका अध्यक्ष समेत थिए।