२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

दौरा सुरुवालमा विश्व परिक्रमा: ७ महादेशमा दौडिएर बाल जोशीले राखे विश्व कीर्तिमान

दौरा सुरुवालमा विश्व परिक्रमा: ७ महादेशमा दौडिएर बाल जोशीले राखे विश्व कीर्तिमान

न्युयोर्क – नेपाली मूलका अमेरिकी धावक बाल जोशीले चानचुने काम गरेका छैनन्। उनले नेपाली राष्ट्रिय पोसाक ‘दौरा सुरुवाल’ लगाएरै विश्वका सातै महादेशमा दौडिएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम लेखाएका छन्।

जोशीले ‘विश्व म्याराथन च्यालेन्ज’ अन्तर्गत ७ दिनमा ७ महादेशका ७ वटा म्याराथन पूरा गरेर यो कीर्तिमान बनाएका हुन्। यसलाई ‘७७७ म्याराथन’ पनि भनिन्छ। जनवरी ३१ मा हिउँले ढाकिएको अन्टार्कटिकाबाट सुरु भएको उनको यो यात्रा शुक्रबार अमेरिकाको मायामीमा आएर सकिएको थियो।

मायामीमा भएको समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माइकल ईम्प्रिकले जोशीलाई विश्व कीर्तिमानको प्रमाणपत्र थमाए। दौरा सुरुवाल लगाएर यसरी विश्व कीर्तिमान राख्ने उनी दुनियाँकै पहिलो धावक बनेका छन्।

यो दौड अन्टार्कटिकाबाट सुरु भएर अफ्रिकाको केप टाउन, अस्ट्रेलियाको पर्थ, एसियाको दुबई, युरोपको म्याड्रिड, दक्षिण अमेरिकाको ब्राजिल हुँदै उत्तर अमेरिकाको मायामीमा सम्पन्न भएको थियो। उनले सातै महादेशमा नेपाल र अमेरिकाको झण्डा फहराएका थिए।

टेक्सासको ग्रेपभाइन सिटीमा बस्ने र पेसाले बैंकर रहेका जोशीले भने, “मैले यो चुनौतीलाई मातृभूमि नेपाल र नेपाली संस्कृति चिनाउने अवसरका रूपमा लिएको हुँ।” उनले लगाएका सातै जोर दौरा सुरुवाल काठमाडौँका डिजाइनर विश्व गौतमले तयार पारेका थिए। सन् २०२६ को यो म्याराथनमा ३२ देशका ५६ जना प्रतिस्पर्धी सहभागी थिए।