२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नर्थ क्यारोलिनामा हिमपातका बीच भव्य रूपमा मनाइयो २८६२औं सोनाम ल्होछार, मिलन लामा र शशिकला मोक्तानले तताए माहोल

नर्थ क्यारोलिनामा हिमपातका बीच भव्य रूपमा मनाइयो २८६२औं सोनाम ल्होछार, मिलन लामा र शशिकला मोक्तानले तताए माहोल

नर्थ क्यारोलिना – ट्राइड तामाङ समाज नर्थ क्यारोलिनाले आयोजना गरिएको २८६२ औं ता ल्हो सोनाम ल्होछार भव्य रूपमा सम्पन्न गरेको छ। “भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन गरौ “भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम ग्रिन्सबोरोस्थित १२७ ल्यान्डमार्क ड्राइभको कम्युनिटी हलमा सम्पन्न भएको हो।

प्रतिकूल मौसम र हिमपातका कारण सुरक्षाको दृष्टिकोणले शनिबारका लागि तय गरिएको कार्यक्रम आइतबार सारिएको थियो। समाजले फेसबुक पेजमार्फत मिति सरेको जानकारी सबैलाई गराए। हिउको डरलाग्दो प्रभाब दोस्रो दिन पनि उतिकै थियो । आयोजकलाई पार्किंग लटमा हिउ सोर्न हम्मे हम्मे परेता पनि कार्यक्रममा उल्लेख्य दर्शक अतिथीहरुको सहभागिता रहेको थियो। राले, केरी र सार्लोट लगायतका स्थानबाट दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।

राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति कार्यक्रममा न्युयोर्कबाट आएकी चर्चित सेलो गायिका शशिकला मोक्तान र नेपाल बाट आएको अन्तर्राष्ट्रिय लोक तथा दोहोरी गायक मिलन लामाको प्रस्तुति मुख्य आकर्षण बन्यो। गायिका मोक्तानले ‘माया भन्दा ठूलो जात हैन’, ‘सुन सुन मैच्याङ’, ‘नाचुँ नाचुँ लाग्यो मलाई’ जस्ता चर्चित सेलो र नेपाली गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारिन्।

त्यस्तै, गायक मिलन लामाले ‘माझी दाई पोखरा फेवातालको’,‘हङकङ आईडीले’ झल्को लाली ओठको , रेशम फिरीरी र ‘आक्रागो मैच्याङ धुरुरु ‘जस्ता गीत गाउँदा हल गुञ्जयमान भएको थियो। उनले स्थानीय कलाकार हिरादेवी भट्टराई र साथीहरूसँग गाएको दोहोरीले माहोल झनै तताएको थियो।

स्थानीय कलाकारहरू टेकन रानाले ‘हंगामा भो’ बोलको गीत र उज्ज्वल पौडेलले ‘निर जहिले रिसाउने’ गीत प्रस्तुत गरेका थिए। सेजल खत्री, निशा श्रेष्ठ लामा, रितिका सापकोटा लगायतले नृत्य प्रस्तुत गर्नु भएको थियो । मुक्तिका तामाङ, नबिना लामा, निलरुपा गुरुङ, पार्वती घले, बिन्जु थापा शुभेच्छाले स्वागत गीत “ल्हासो फ्यापुल्ला नमस्ते सबैलाई भेट भाको बेलैमा” भन्ने बोलको गीतमा नृत्य गरेर सबै अतिथी दर्शकहरुलाई स्वागत गरेका थिए।

प्रेसिका बस्नेत, अल्बिना नगरकोटी र निलम थिङको ‘कम्बो (सेलो मिक्स)’डान्स तथा हिरादेवी भट्टराईले हेलाको आखाले नहेर्नु सासु बुहारी भैयो तामाङको र थाली नृत्यले दर्शकको मन जितेको थियो।

कार्यक्रमको उद्घाटन उद्घोषकद्वय बद्री मोक्तान र डा. जेनी पाख्रिनले सभाअध्यक्षलाई आशन ग्रहण गराएर गरेका थिए। समाजका अध्यक्ष अक्कल बहादुर थिङको सभापतित्वमा भएको कार्यक्रममा कलाकारहरू मिलन लामा र शशिकला मोक्तानलाई शान्ता लिम्बु तामांग र हुमा तामांगले खादा र ब्याज लगाएर सम्मान गरिएको थियो। कार्यक्रमको बीचमा उद्घोषक बद्री मोक्तानले जादु देखाउँदा दर्शकले तालीको गडगडाहटले साथ दिएका थिए।

सहयोगी हातहरू कार्यक्रमलाई सफल बनाउन ट्राई सिस्टर होम केयर, हिमालयन अटो केयर, करी एण्ड स्पाइस, सोल्भरेज, टोकियो एक्सप्रेस, इन्दु ग्रोसरी लगायत विभिन्न व्यवसायी, समाजसेवी र रियाल्टरहरूले प्रायोजन गरेका थिए। साँझ ५ बजे देखि खाजा ६ः३० बजे सम्म र राति ८ देखि ९ बजे सम्म खाना खुल्ला रहेको मुख्य सेफ शंखर घिसिंगले जानकारी गराएको थियो ।यी व्यवस्थासहित सुरु भएको कार्यक्रम निकै भब्य र उत्साजनक तरिकाले राति साढे १० बजे डिजेमा आएर समापन भएको थियो।