२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

टर्कीश विद्यार्थीलाई देशनिकाला गर्न रोक, अदालतले दियो राहत

टर्कीश विद्यार्थीलाई देशनिकाला गर्न रोक, अदालतले दियो राहत

न्युयोर्क – अमेरिकी अध्यागमन अदालतले टफ्ट्स युनिभर्सिटी मा पीएचडी गरिरहेकी टर्कीश विद्यार्थी रुमेसा ओजतुर्क लाई देशनिकाला गर्ने सरकारी प्रक्रिया रोकइदिएको छ।

उनका वकिलहरूले सोमबार जानकारी दिए अनुसार, गत जनवरी २९ मा अदालतले फैसला सुनाउँदै ‘होमल्याण्ड सेक्युरिटी’ ले उनलाई अमेरिकाबाट हटाउनुपर्ने कुनै ठोस कारण पेस गर्न नसकेको ठहर गरेको छ। साथै, अदालतले उनको देशनिकाला सम्बन्धी मुद्दा नै खारेज गरिदिएको छ।

ओजतुर्क बालबालिका र सोसल मिडियाको सम्बन्धबारे पीएचडी गर्दै छिन्। उनले गाजा युद्ध र इजरायलको विषयमा आफ्नो युनिभर्सिटीको भूमिकाको आलोचना गर्दै एउटा लेख लेखेकी थिइन्। प्यालेस्टाइनको पक्षमा वकालत गरेको भन्दै गत वर्षको मार्चमा ट्रम्प प्रशासनले उनलाई बाटोमा हिँडिरहेको बेला हतकडी लगाएर पक्राउ गरेको थियो। सादा पोसाकका एजेन्टहरूले उनलाई गाडीमा हालेर लगेको भिडियो त्यतिबेला भाइरल भएको थियो।

उनी गत मे महिनादेखि हिरासतमुक्त भएर क्याम्पसमा फर्किसकेकी छिन्। फैसलापछि ओजतुर्कले भनिन्, “आज मैले लामो सास फेरेकी छु। कानुनी प्रणालीमा कमजोरी भए पनि यो न्यायले अमेरिकी सरकारबाट अन्यायमा परेका अरूलाई आशा दिनेछ।” यद्यपि, सरकारले यो फैसलाविरुद्ध माथिल्लो निकायमा पुनरावेद गर्ने बाटो भने अझै खुला छ।