अमेरिकी आप्रवासन नीतिको असर ओलम्पिकसम्म: ट्रम्प नीतिले अमेरिकी खेलाडी विभाजित
- २७ माघ २०८२
- १ मिनेटको पढाई
लिभिनो, इटाली- मिलान-कोर्टिना विन्टर ओलम्पिकको सुरुवातमै अमेरिकी राजनीतिले खेल मैदान तताएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ओलम्पिकलाई “देशलाई एकताबद्ध गर्ने थोरै चिजमध्ये एक” भनेर प्रशंसा गरिरहँदा, अमेरिकी खेलाडीहरू भने राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिको चेपुवामा परेका छन्।
अमेरिकी फ्रिस्टाइल स्की खेलाडी हन्टर हेसले देशको प्रतिनिधित्व गर्दा आफूलाई “मिश्रित भावना” आइरहेको बताएपछि विवाद सुरु भएको हो। उनले भने, “देशमा जे भइरहेको छ, म त्यसको ठुलो प्रशंसक होइन। झन्डा बोक्दैमा मैले अमेरिकामा भइरहेका सबै कुराको प्रतिनिधित्व गर्छु भन्ने हुँदैन।”
हेसको यो अभिव्यक्ति बाहिरिनेबित्तिकै राष्ट्रपति ट्रम्प आगो भए। उनले सामाजिक सञ्जालमा हेसलाई “वास्तविक लुजर”को संज्ञा दिँदै भने, “उसले टिममा छनोट हुनै हुँदैनथ्यो। यस्तो मान्छेको पक्ष लिन धेरै गाह्रो छ।”
ट्रम्पको यो आक्रमणपछि अन्य खेलाडीहरू हेसको बचाउमा उत्रिएका छन्। दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता क्लो किम , जसका अभिभावक दक्षिण कोरियाली आप्रवासी हुन्, उनले एकताबद्ध हुन आह्वान गरिन्। चीनबाट खेल्ने आइलिन गुले पनि हेसको अवस्था बुझेको भन्दै सहानुभूति जनाइन्।
अर्का स्की खेलाडी मिकाएला सिफ्रिनले नेल्सन मण्डेलालाई उद्धृत गर्दै समावेशिता र विविधताको पक्षमा वकालत गरिन्। यस्तै, एलजिबिटीक्यु अधिकारकर्मी समेत रहेकी फिगर स्केटर एम्बर ग्लेनले ट्रम्पको शासनमा आफ्नो समुदायले “गाह्रो समय” भोगिरहेको बताइन्। धम्की आएपछि उनी सामाजिक सञ्जालबाट टाढिएकी छिन्।