मेरिल्याण्डको हाईस्कुलमा १६ वर्षीय विद्यार्थीले आफ्नै सहपाठीलाई हाने गोली
- २७ माघ २०८२
- १ मिनेटको पढाई
मेरिल्याण्ड- अमेरिकाको मेरिल्याण्ड राज्यस्थित एउटा हाईस्कुलमा सोमबार दिउँसो गोली चलेको छ। रकभिलमा रहेको ‘थोमस एस. उटन हाईस्कुल’ मा दुई विद्यार्थीबिचको झगडाले उग्र रूप लिँदा गोली चलेको हो।
प्रहरीका अनुसार, दिउँसो करिब २:१५ बजे स्कुलको हलवे मा दुई जना १६ वर्षीय विद्यार्थीबिच भनाभन भएको थियो। त्यही क्रममा एक जनाले अर्कोलाई गोली हानेका थिए। गोली लागेर घाइते भएका विद्यार्थीलाई तत्काल अस्पताल लगिएको छ र अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।
गोली हान्ने विद्यार्थी (सुटर) लाई प्रहरीले घटनालगत्तै स्कुल नजिकैबाट पक्राउ गरेको छ। उनी पनि सोही स्कुलका विद्यार्थी हुन्। प्रहरीले उनलाई वयस्क सरह मुद्दा चलाउने तयारी गरेको छ। अचम्मको कुरा त के छ भने, घटनामा प्रयोग भएको बन्दुक भने प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन। स्कुलमा मेटल डिटेक्टर पनि जडान गरिएको थिएन।
घटनापछि स्कुललाई दुई घण्टासम्म ‘लकडाउन’ गरिएको थियो। त्रसित अभिभावकहरू आफ्ना छोराछोरी लिन स्कुल बाहिर लामबद्ध भएका थिए। सुरक्षाका कारण विद्यार्थीहरूलाई नजिकैको रोबर्ट फ्रस्ट मिडिल स्कुलमा लगेर अभिभावकको जिम्मा लगाइएको थियो। मंगलबारबाट स्कुल पुनः सञ्चालन हुने र विद्यार्थीलाई ‘काउन्सिलिङ’ दिइने बताइएको छ।