आइसका कर्मचारी नै अपराधमा: यौन शोषणदेखि लागुऔषध चोरीसम्म
- २८ माघ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकामा आप्रवासीलाई समात्ने र देश निकाला गर्ने जिम्मा पाएको निकाय ‘आइस’ का कर्मचारीहरू नै गम्भीर अपराधमा संलग्न भएको पाइएको छ। एसोसिएटेड प्रेस ले गरेको खोजी अनुसार, सन् २०२० यता कम्तीमा दुई दर्जन कर्मचारी र ठेकेदारमाथि मुद्दा चलेको छ।
उनीहरूमाथि शारीरिक तथा यौन शोषण, भ्रष्टाचार र पदको दुरुपयोग गरेको आरोप छ। कंग्रेसले आइसलाई नयाँ कर्मचारी भर्ना गर्न ७५ अर्ब डलर दिएपछि यो समस्या झन् बढ्न सक्ने डर विज्ञहरूले मानेका छन्। हतारमा धेरै मान्छे भर्ना गर्दा र उनीहरूलाई असीमित अधिकार दिँदा यस्तो जोखिम बढेको हो।
केही घटनाहरू त निकै डरलाग्दा छन्। टेक्ससमा एक हाकिमले हतकडी लगाएका थुनुवालाई घाँटी ङ्याकेर भित्तामा ठोक्काएका थिए। लुजियानामा एक ठेकेदारले थुनुवामाथि नै यौन शोषण गरेको स्वीकारेका छन्। युटामा त दुई जना अनुसन्धान अधिकृतले सरकारी नियन्त्रणमा रहेको ‘बाथ साल्ट’ (लागुऔषध) चोरेर बेचेको भेटियो। यस्तै, ह्युस्टनमा घुस खाएर डिपोर्टेसन रोक्ने र मिनेसोटामा नाबालिगमाथि यौन दुव्र्यवहार गर्ने कर्मचारी पनि पक्राउ परेका छन्।
यता होमल्यान्ड सेक्युरिटीकी सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले भने यो समस्या धेरै नभएको दाबी गरेकी छिन्। उनले गल्ती गर्नेलाई कडा कारबाही हुने र नयाँ कर्मचारीको पृष्ठभूमि राम्ररी जाँचिएको बताएकी छिन्।