२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अमेरिकी इन्डो-प्यासिफिक कमान्डका कमान्डर नेपाल जाँदै

अमेरिकी इन्डो-प्यासिफिक कमान्डका कमान्डर नेपाल जाँदै

न्युयोर्क- संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीन दिने औपचारिक भ्रमणका लागि नेपाल जाँदैछन्। पूर्वनिर्धारित नियमित तालिकाअनुसार उनको यो भ्रमण हुन लागेको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणका क्रममा उनले उच्चस्तरीय औपचारिक भेटघाट गर्नेछन्। भेटवार्ताका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध, द्विपक्षीय हित र सुरक्षा चासोका विषयमा छलफल हुने बताइएको छ।

आफ्नो तीन दिने भ्रमणका क्रममा एड्मिरल पापारो काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा पुग्नेछन्। त्यहाँ उनले केन्द्रको अवलोकन गर्नुका साथै शान्ति स्थापना कार्यमा नेपाली सेनाको भूमिका र तालिमको अवस्थाबारे जानकारी लिनेछन्।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाल धेरै सैनिक पठाउने मुलुकहरूको सूचीमा अग्रणी स्थानमा रहेकाले यस भ्रमणलाई अर्थपूर्ण मानिएको छ। विशेषगरी मानवीय सहयोग, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनाका क्षेत्रमा अमेरिकी सहयोग र सहकार्यलाई यो भ्रमणले थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।