२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा हिमपातको कहर: चिसोले कठ्यांग्रिएर २६ जनाको मृत्यु, घरभित्रै पनि ज्यान गयो

न्युयोर्कमा हिमपातको कहर: चिसोले कठ्यांग्रिएर २६ जनाको मृत्यु, घरभित्रै पनि ज्यान गयो

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरमा केही साताअघि आएको भारी हिमपात र त्यसपछिको अत्यधिक चिसोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।

मंगलबार राति म्यानहट्टन ब्रिजमुनि एक व्यक्तिको शव फेला परेसँगै मृतकको संख्या बढेको हो। अधिकारीहरूका अनुसार, अहिलेसम्म १९ जनाको सडक वा खुला आकाशमुनि चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ।

सहरका मुख्य मेडिकल एक्जामिनर जेसन ग्राहमले सिटी काउन्सिलको आपत्कालीन सुनुवाइमा दिएको जानकारी अनुसार, ७ जनाको मृत्यु भने घरभित्रै भएको हो। उनीहरूको मृत्युमा पनि ‘हाइपोथर्मिया’ (शरीरको तापक्रम अत्यधिक घट्नु) प्रमुख कारण देखिएको छ। यद्यपि, ती घरहरूमा ‘हिटिङ सिस्टम’ बिग्रिएको थियो वा थिएन भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।

यो विषयले अल्बानीमा भएको बजेट सुनुवाइमा पनि प्रवेश पाएको छ, जहाँ मेयर जोहरान मामदानीले सांसदहरूको कडा प्रश्नको सामना गर्नुपर्यो।

जनवरी २८ देखि सहरले मेसिन प्रयोग गरेर करिब ४० करोड पाउण्ड हिउँ पगालिसकेको छ। अहिले तापक्रम केही बढेर ४० डिग्री फरेनहाइट पुगेको छ। न्युयोर्क सहरले बुधबारदेखि ‘कोड ब्लु’ हटाएको छ, तर यो हप्ताको अन्त्यसम्म ‘वार्मिङ भ्यान’ र उद्धार टोलीहरू भने तयारी अवस्थामा रहनेछन्।