२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

आप्रवासन मुद्दामा रिपब्लिकनको पकड कमजोर: ट्रम्पको शैलीले स्वतन्त्र मतदाता भड्किए

आप्रवासन मुद्दामा रिपब्लिकनको पकड कमजोर: ट्रम्पको शैलीले स्वतन्त्र मतदाता भड्किए

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहरहरूमा संघीय एजेन्ट पठाएर ‘सीमा नाघेको’ भन्दै बहुसंख्यक अमेरिकीले असन्तुष्टि जनाएका छन्। एक सर्वेक्षण अनुसार, ६० प्रतिशत अमेरिकी वयस्कहरूले ट्रम्पको कदमलाई ‘अति भयो’ भनेका छन्।

खासगरी कुनै पनि पार्टीमा नखुलेका ‘स्वतन्त्र मतदाता’ ट्रम्पको यो कडा शैलीबाट टाढिँदै गएका छन्। आप्रवासन मुद्दामा सधैँ बलियो मानिने रिपब्लिकन पार्टीको पकड पनि अब कमजोर बन्दै गएको छ। गत अक्टोबरमा यस मुद्दामा रिपब्लिकनहरू डेमोक्र्याटभन्दा १३ अंकले अगाडि थिए, तर अहिले यो अन्तर घटेर ४ अंकमा झरेको छ।

सर्वेक्षण अनुसार, स्वतन्त्र मतदाताहरूको समर्थन ट्रम्पलाई घट्दो छ। सन् २०२५ को मार्चमा ३७ प्रतिशत स्वतन्त्र मतदाताले ट्रम्पको आप्रवासन नीति मन पराएका थिए भने अहिले त्यो घटेर २३ प्रतिशतमा पुगेको छ।

मिचिगनकी ६५ वर्षीया ब्रेन्डा साले ट्रम्पको शैलीलाई ‘गेस्टापो’ (नाजीकालीन पुलिस) सँग तुलना गरिन्। “हाम्रा सहरमा सेना जस्तो पठाएर आफ्नै नागरिकको अनुहार र पिठ्युँमा गोली हान्नु गलत हो,” उनले भनिन्। यस्तै, इन्डियानाका पूर्व नेभी अधिकारी रिक किनेटले मान्छेलाई गाडीबाट थुतेर गोली हान्नु असंवैधानिक भएको बताए।

यति हुँदाहुँदै पनि ट्रम्पका कट्टर रिपब्लिकन समर्थकहरू भने उनीसँगै छन्। करिब ५० प्रतिशत रिपब्लिकनले ट्रम्पको कदम ‘ठिकै छ’ भनेका छन् भने २५ प्रतिशतले ‘अझै पुगेन’ भनेका छन्। लुजियानाका २० वर्षीय टेभिस क्रफोर्डले भने, “मलाई लाग्छ, देशनिकाला अझै कम भयो। अवैध रूपमा आउनेलाई निकाल्नै पर्छ।”

मिनियापोलिसमा हालै संघीय एजेन्टको गोलीबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि यो विषय झनै पेचिलो बनेको छ। ट्रम्पको समग्र लोकप्रियता अहिले ३६ प्रतिशतमा झरेको छ।