आईआरएसले हजारौँ करदाताको विवरण गल्तीले आप्रवासन विभागलाई सुम्पियो
- २९ माघ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी कर कार्यालयले हजारौँ करदाताको गोप्य विवरण गल्तीवश ‘होमल्याण्ड सेक्युरिटी’लाई दिएको खुलासा भएको छ। बुधबार अदालतमा पेस गरिएको एक दस्तावेज अनुसार, अमेरिकामा अवैध रूपमा बसिरहेका मानिसहरूलाई पहिचान गरी देश निकाला गर्ने उद्देश्यले गरिएको विवादास्पद सम्झौता कार्यान्वयन गर्दा यो गल्ती भएको हो।
गत अप्रिलमा अर्थमन्त्री स्कट बेसेन्ट र होमल्याण्ड सेक्युरिटी मन्त्री क्रिस्टी नोएमबिच एउटा सम्झौता भएको थियो। जस अनुसार ‘आइस’ (ICE) ले शंकास्पद आप्रवासीहरूको नाम र ठेगाना आईआरएसलाई पठाउने र आईआरएसले कर अभिलेखसँग भिडाएर पुष्टि गर्ने सहमति थियो।
आइसले १ लाख २८ हजार मानिसको सूची आईआरएसलाई पठाएको थियो। आईआरएसका एक अधिकारी डटी रोमोका अनुसार, त्यसमध्ये करिब ४७ हजार जनाको मात्र विवरण पुष्टि हुन सक्यो। तर, समस्या तब भयो जब आईआरएसले तीमध्ये ५ प्रतिशतभन्दा कम व्यक्तिको थप निजी ठेगाना विवरण पनि आइसलाई सुम्पियो। यो काम करदाताको गोपनीयतासम्बन्धी नियम विपरीत थियो।
अर्थ मन्त्रालयले गत जनवरीमै यो गल्ती थाहा पाएर होमल्याण्ड सेक्युरिटीलाई खबर गरिसकेको बताएको छ। उसले कानुन विपरीत दिइएका डाटाहरू तत्काल नष्ट गर्न र गल्ती सच्याउन अनुरोध गरेको छ।
यो सम्झौता विरुद्ध ‘पब्लिक सिटिजन’ लगायतका अधिकारवादी संस्थाहरूले पहिले नै मुद्दा दायर गरेका थिए। म्यासाचुसेट्सको संघीय अदालतले आईआरएसलाई आइससँग आवासीय ठेगाना सेयर गर्न रोक लगाइसकेको छ। अधिकारवादी लिसा गिल्बर्टले भनेकी छिन्, “निजी कर विवरण यसरी बाँड्दा अराजकता फैलिन्छ। यदि संघीय एजेन्टले यो सूचना प्रयोग गरेर मान्छे समात्न थाले भने धेरैको ज्यान जोखिममा पर्नेछ।”