टर्कीको संसदमा सांसदहरूबिच ‘कुटाकुट’: मन्त्रीको शपथ रोक्न खोज्दा तनाव
- २९ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- टर्कीको संसद भवन बुधबार रणभूमि जस्तै बन्यो। त्यहाँ सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच हात हालाहालको स्थिति सिर्जना भयो। राष्ट्रपति रेसेप तैयप एर्दोगानले मन्त्रिपरिषद् पुनर्गठन गर्दै एक विवादास्पद व्यक्तिलाई न्याय मन्त्री बनाएपछि यो लफडा सुरु भएको हो।
इस्तानबुलका मुख्य अभियोजक अकिन गुर्लेकलाई एर्दोगानले नयाँ न्याय मन्त्री नियुक्त गरेका थिए। बुधबार जब गुर्लेक शपथ लिन संसदमा पुगे, विपक्षी सांसदहरूले उनलाई रोक्न खोजे। उनीहरूले गुर्लेकको नियुक्तिको विरोध गर्दै बाटो छेकेपछि दुई पक्षका सांसदहरूबिच घम्साघम्सी र कुटाकुट भएको हो। मुक्का हानाहानकै बिच सत्तापक्षका सांसदहरूले घेरा हालेर सुरक्षा दिँदै गुर्लेकलाई शपथ खुवाएका थिए।
प्रमुख प्रतिपक्षी दल ‘रिपब्लिकन पिपुल्स पार्टी’ (सिएचपी) ले गुर्लेकको नियुक्तिमा कडा आपत्ति जनाएको छ। गुर्लेकले विगतमा इस्तानबुलको मुख्य अभियोजक हुँदा सिएचपीका नेताहरू विरुद्ध राजनीतिक प्रेरित मुद्दा चलाएको आरोप विपक्षीको छ।
यसैबिच, एर्दोगानले एर्जुरुम प्रान्तका गभर्नर मुस्तफा सिफ्सीलाई गृहमन्त्री नियुक्त गरेका छन्। सरकारले मन्त्री हेरफेरको ठोस कारण नखुलाए पनि पुराना मन्त्रीहरूले राजीनामा दिएको जनाएको छ। पछिल्लो समय टर्कीमा राजनीतिक तनाव चुलिएको छ। गत वर्ष एर्दोगानका मुख्य प्रतिस्पर्धी मानिने इस्तानबुलका मेयर एक्रेम इमामोग्लुसहित सयौँ विपक्षी नेताहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो।