२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ट्रम्पको जलवायु नीतिमा ठुलो हमला: ओबामाकालीन नियम खारेज, ‘ग्रिन न्यु स्क्याम’ को अन्त्य भएको घोषणा

ट्रम्पको जलवायु नीतिमा ठुलो हमला: ओबामाकालीन नियम खारेज, ‘ग्रिन न्यु स्क्याम’ को अन्त्य भएको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पुरानो र एकदमै महत्त्वपूर्ण नियम खारेज गरेका छन्। बिहीबार ह्वाइट हाउसमा बोल्दै उनले सन् २००९ मा लागू भएको ‘इनडेन्जरमेन्ट फाइन्डिङ’ हटाउने घोषणा गरे। यो नियमले प्रदूषणलाई जनस्वास्थ्य र वातावरणका लागि खतरनाक मान्दै गाडी र उद्योगहरूबाट निस्कने धुवाँ नियन्त्रण गर्ने बाटो खोलेको थियो।

ट्रम्पले यो कदमलाई डेमोक्र्याटिक पार्टीको ‘अतिवादी’ एजेन्डामाथिको जित भनेका छन्। उनले यो नियमलाई ‘ग्रिन न्यु स्क्याम’ को संज्ञा दिँदै यसले अमेरिकी अर्थतन्त्रलाई घाटा पुर्‍याएको दाबी गरे। वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्डिनले पनि ट्रम्पको साथ दिँदै यो निर्णयलाई अमेरिकाको इतिहासकै सबैभन्दा ठुलो कानुनी फुकुवाभनेका छन्। ट्रम्पका अनुसार, अब विद्युतीय गाडीको बाध्यता हट्नेछ र इन्धनबाट चल्ने गाडी सस्तो हुनेछ।

यो निर्णयपछि पूर्व राष्ट्रपति बाराक ओबामासहित डेमोक्र्याट र वातावरणविद्हरू आक्रोशित भएका छन्। ओबामाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “हामी अब कम सुरक्षित र कम स्वस्थ हुनेछौँ, यो सब इन्धन उद्योगलाई धनी बनाउन गरिएको हो।”

सर्वेक्षणहरूले ६३ प्रतिशत अमेरिकीहरू जलवायु परिवर्तनप्रति चिन्तित रहेको देखाए पनि ट्रम्पले यसलाई ‘धोका’ भन्दै आएका छन्। आगामी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले यसलाई राजनीतिक मुद्दा बनाएका छन्।