होमल्याण्ड सेक्युरिटी बन्द हुने निश्चित: ह्वाइट हाउस र डेमोक्र्याटबिच कुरा मिलेन
- ०१ फाल्गुन २०८२
- १ मिनेटको पढाई
वासिङ्टन – अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभाग बन्द हुने लगभग पक्का भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र डेमोक्र्याटिक पार्टीबिच बजेटबारे कुरा नमिलेपछि यो संकट आएको हो। सांसदहरू १० दिने बिदामा निस्किएकाले तत्काल समाधान हुने छाँटकाँट छैन।
डेमोक्र्याटहरूले आप्रवासन एजेन्सी ‘आइस’ र अन्य संघीय सुरक्षाकर्मीमाथि कडा नियम लगाउनुपर्ने सर्त राखेका छन्। गत महिना मिनेसोटामा सुरक्षाकर्मीको गोलीबाट दुई जना (एलेक्स प्रीति र रेनी गुड) को मृत्यु भएपछि उनीहरूले यस्तो अडान लिएका हुन्। उनीहरूको माग छ कि– एजेन्टहरूले मास्क लगाउन नपाऊन्, परिचय पत्र स्पष्ट देखाऊन् र कसैको निजी घरमा पस्न अदालतको आदेश अनिवार्य होस्।
राष्ट्रपति ट्रम्पले डेमोक्र्याटहरूको माग पूरा गर्न “धेरै गाह्रो” हुने बताएका छन्। उनले सुरक्षाकर्मीको सुरक्षाका लागि मास्क आवश्यक भएको तर्क गरेका छन्। रिपब्लिकन सिनेटरहरूले पनि डेमोक्र्याटहरूले राजनीति गरिरहेको आरोप लगाएका छन्।
यो ‘सटडाउन’ भए पनि आप्रवासी समात्ने र देश निकाला गर्ने काम भने रोकिने छैन। किनकि आइस सँग पहिले नै ७५ अर्ब डलरको बजेट छ। तर, यसको असर विमानस्थल सुरक्षा हेर्ने टीएसए, कोस्ट गार्ड, सिक्रेट सर्भिस र आपतकालीन उद्धार गर्ने फेमामा पर्नेछ। लामो समय बन्द भए कर्मचारीहरूले तलब पाउने छैनन् र विपद् व्यवस्थापनमा समस्या आउन सक्छ।