मिनेसोटाबाट ७०० एजेन्ट फिर्ता: ४ हजार पक्राउ, २ जनाको मृत्यु
- ०१ फाल्गुन २०८२
- १ मिनेटको पढाई
मिनेसोटा – अमेरिकाको मिनेसोटा राज्यमा ट्रम्प प्रशासनले चलाएको विवादित अध्यागमन कारबाही ‘अपरेसन मेट्रो सर्ज’अन्त्य भएको छ। ‘बोर्डर जार’ टम होमनले बिहीबार यो कारबाही सकिएको घोषणा गरेका हुन्।
तथ्यांक अनुसार, डिसेम्बरदेखि सुरु भएको यो कारबाहीका क्रममा ४ हजारभन्दा बढी मानिस पक्राउ परेका छन्। यसै क्रममा सुरक्षाकर्मीको गोली लागेर दुई अमेरिकी नागरिक— रेनी गुड र एलेक्स प्रीति—को मृत्यु भयो। होमनका अनुसार अझै पनि मिनेसोटामा देश निकालाको अन्तिम आदेश पाएका १६ हजार ८ सय ४० जनाको खोजी भइरहेको छ। तत्कालका लागि भने ७ सय जना संघीय एजेन्टहरूलाई त्यहाँबाट फिर्ता बोलाइएको छ।
यो कारबाहीमा मुख्य गरी सोमालियाली र ल्याटिनो समुदाय निसानामा परेका थिए। पक्राउ पर्नेमा ५ वर्षका बालक लियाम कोनेजो रामोससमेत थिए। आप्रवासी बाहुल्य रहेको लेक स्ट्रिट क्षेत्रका व्यवसायहरूले करिब २ महिनामा करोडौँ डलर गुमाएका छन्। गभर्नर टिम वाल्जले पीडित व्यवसायीका लागि १ करोड डलरको राहत प्याकेज प्रस्ताव गरेका छन्।