२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

बेलायतको आग्रह: भोक हड्ताल नगर, गोर्खाको मागबारे छलफल हुँदैछ

बेलायतको आग्रह: भोक हड्ताल नगर, गोर्खाको मागबारे छलफल हुँदैछ

लण्डन- बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ। गोर्खा सैनिकका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै मन्त्रालयले आन्दोलनको बाटो नरोज्न सुझाएको हो।

बेलायती भेट्रान्स मन्त्री लुइस स्यान्डर–जोन्सले ‘ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति’ लाई पत्र लेख्दै यो आग्रह गरेकी हुन्। समितिले मार्च ३१ सम्म समान पेन्सनलगायतका माग पुरा नभए बेलायत र नेपालमा भोक हड्ताल गर्ने चेतावनी दिएको थियो। मन्त्री लुइसले पेन्सनको विषयमा कानुनी जटिलता रहेकाले गम्भीर र जिम्मेवारीपूर्वक छलफल आवश्यक रहेको बताएकी छन्। उनले गोर्खा सैनिकको योगदानको उच्च कदर गर्दै ज्यान जोखिममा पार्ने काम नगर्न अनुरोध गरिन्।

एकातिर वार्ताको कुरा गरे पनि मन्त्री लुइसले सांसद विल फोर्सटरलाई दिएको लिखित जवाफमा भने विरोधाभासपूर्ण कुरा गरेकी छन्। उनले सन् २००७ यताका गोर्खाले बेलायती सैनिक सरह नै सुविधा पाएको र त्यसअघिको ‘१९४८ को स्किम’ पनि कतिपय अवस्थामा बेलायती सैनिकको भन्दा राम्रो रहेको दाबी गरेकी छन्। अहिले बेलायत र नेपालबिचको त्रिपक्षीय वार्ता पेन्सनकै विषयमा अड्किएको छ।