२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चेक बाउन्स मुद्दा: राजपाल यादवलाई अदालतको झट्का, धरौटीमा रिहा गर्न अस्वीकार

चेक बाउन्स मुद्दा: राजपाल यादवलाई अदालतको झट्का, धरौटीमा रिहा गर्न अस्वीकार

नयाँ दिल्ली (भारत)- बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादवको जेल बसाई लम्बिने भएको छ। चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतले बिहीबार उनको जमानत खारेज गरिदिएको छ।

अदालतले यादवलाई ऋण तिर्न २५ देखि ३० पटक मौका दिँदा पनि उनले बाचा पूरा नगरेको भन्दै कडा टिप्पणी गरेको छ। उनका वकिलले ५ करोड ऋणमध्ये ३ करोडभन्दा बढी तिरिसकेको र परिवारमा विवाह भएकाले छोडिदिन आग्रह गरेका थिए। तर, अदालतले ‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्दै सोमबारसम्मका लागि सुनुवाइ स्थगित गरेको छ।

यो विवाद सन् २०१० को हो। राजपालले आफ्नो फिल्म ‘अता पता लापता’ बनाउन ५ करोड रुपैयाँ ऋण लिएका थिए। फिल्म असफल भएपछि उनले पैसा तिर्न सकेनन् र दिएको चेक बाउन्स भयो। यसअघि सन् २०१८ मा पनि उनलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो।

आर्थिक संकटमा परेका राजपाललाई सघाउन बलिउड कलाकारहरू जुटेका छन्। अभिनेता सोनु सुदले उनलाई फिल्ममा काम दिने घोषणा गरेका छन् भने सलमान खान, अजय देवगन र गायक मिका सिंहले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन्। उनकी श्रीमती राधा यादवले सहयोगका लागि सबैलाई धन्यवाद दिएकी छिन्।