२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

आप्रवासी थुन्न अमेरिकाले ३८ अर्ब डलर खर्च गर्ने: गोदाम घरलाई हिरासत बनाइँदै

आप्रवासी थुन्न अमेरिकाले ३८ अर्ब डलर खर्च गर्ने: गोदाम घरलाई हिरासत बनाइँदै

वासिङ्टन-  अमेरिकी अध्यागमन अधिकारीहरूले आप्रवासीहरूलाई राख्ने क्षमता बढाउन ३८.३ अर्ब डलर (करिब ५१ खर्ब रुपैयाँ) खर्च गर्ने योजना बनाएका छन्। शुक्रबार सार्वजनिक भएको एक दस्तावेज अनुसार, अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ ले विभिन्न स्थानमा रहेका ठुला गोदाम घरहरू खरिद गरेर तिनलाई हिरासत केन्द्रमा परिणत गर्ने तयारी गरेको हो।

नयाँ योजना अनुसार हिरासतको क्षमता बढाएर ९२ हजार ६ सय शय्या पुर्‍याइनेछ। यसअन्तर्गत १६ वटा क्षेत्रीय प्रोसेसिङ सेन्टर बनाइनेछ, जहाँ १ हजारदेखि १ हजार ५ सय जनासम्म अटाउनेछन्। त्यहाँ आप्रवासीहरूलाई औसतमा ३ देखि ७ दिनसम्म राखिनेछ। यस्तै, ८ वटा ठुला हिरासत केन्द्र निर्माण गरिनेछ, जहाँ ७ हजारदेखि १० हजार जनालाई ६० दिनसम्म राख्न सकिनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ। तथ्यांक अनुसार, ट्रम्प आउनुअघि ४० हजारको हाराहारीमा रहेका बन्दीहरूको संख्या अहिले बढेर ७५ हजार नाघिसकेको छ। आइसले एरिजोना, जर्जिया, टेक्सास लगायतका राज्यमा सुटुक्क गोदामहरू किनिसकेको बताइएको छ।

यसैबिच, न्यु ह्याम्पसायरकी गभर्नर केली आयोटले भने यो योजनाप्रति असन्तुष्टि जनाएकी छन्। संघीय अधिकारीहरूले राज्य सरकारसँग समन्वय नगरी गलत रिपोर्ट पेस गरेको उनको आरोप छ। अधिकारीहरूले ओक्लाहोमाको आर्थिक रिपोर्टलाई न्यु ह्याम्पसायरको भनेर पेस गरेपछि विवाद सिर्जना भएको हो।