मिनियापोलिस झडप: औँला टोकिदिने महिलासहित ४ जना विरुद्ध मुद्दा दर्ता
- ०२ फाल्गुन २०८२
- १ मिनेटको पढाई
मिनियापोलिस- अमेरिकाको मिनियापोलिसमा संघीय अधिकारीहरूसँगको झडपमा संलग्न ४ जना विरुद्ध मुद्दा दायर भएको छ। यसमा एक महिलामाथि अध्यागमन अधिकारीको औँलाको टुप्पो नै टोकेर छिनाइदिएको गम्भीर आरोप लागेको छ।
अन्य तीन जनालाई भने एफबीआई का एजेन्टहरूलाई ज्यान मार्ने धम्की दिएको अभियोग लगाइएको छ।
सेन्ट पलकी २७ वर्षीया क्लेयर लुइस फेङमाथि यो आरोप लागेको हो। होमल्याण्ड सेक्युरिटीका अनुसार, जनवरी २४ मा एलेक्स प्रीति मारिएको विरोधमा भएको प्रदर्शनका क्रममा यो घटना भयो। एक अधिकारीले अर्का प्रदर्शनकारीलाई पक्राउ गर्न खोज्दा फेङले ती अधिकारीलाई भुइँमा लडाएकी थिइन्। त्यसक्रममा उनले अधिकारीको पन्जा माथिबाटै औँला टोकिदिएकी थिइन्। टोकाइबाट अधिकारीको औँलाको टुप्पो हड्डी देखिने गरी चुँडिएको बताइएको छ। फेङका वकिलले भने आरोप अस्वीकार गर्दै कानुनी प्रतिवाद गर्ने बताएका छन्।
जनवरी १४ को गोलीकाण्डको अनुसन्धान गर्न गएका एफबीआई एजेन्टहरू प्रदर्शन उग्र भएपछि गाडी छोडेर भागेका थिए। प्रदर्शनकारीले उनीहरूको गाडी तोडफोड गरी बन्दुक, परिचयपत्र र व्यक्तिगत विवरण (फोन नम्बर, ठेगाना) चोरी गरे। ती विवरण अनलाइनमा लिक भएपछि एजेन्टहरूलाई धम्की आउन थालेको हो।
धम्की दिनेमा वासिङ्टनकी १८ वर्षीया ब्रेना मेरी डोयल, क्यालिफोर्नियाका ४५ वर्षीय जेम्स प्याट्रिक लायन्स र इलिनोइसका २९ वर्षीय जोस अल्बर्टो रामिरेज छन्। डोयलले एजेन्ट र उनको परिवारलाई मार्ने भ्वाइस म्यासेज पठाएको आरोप छ भने अन्य दुईले धम्कीपूर्ण म्यासेज पठाएका थिए।