२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

गल्तीले देश निकाला गरिएकी विद्यार्थीलाई २ हप्ताभित्र फिर्ता बोलाउन आदेश

गल्तीले देश निकाला गरिएकी विद्यार्थीलाई २ हप्ताभित्र फिर्ता बोलाउन आदेश

बोस्टन- अमेरिकाको बोस्टनस्थित संघीय अदालतले गल्तीवश देश निकाला गरिएकी एक कलेज विद्यार्थीलाई दुई हप्ताभित्र अमेरिका फिर्ता ल्याउन सरकारलाई आदेश दिएको छ।

न्यायाधीश रिचर्ड स्टर्न्सले शुक्रबार १९ वर्षीया एनी लुसिया लोपेज बेलोजालाई फेब्रुअरी महिनाको अन्त्यसम्ममा फिर्ता ल्याउन निर्देशन दिए। ब्याब्सन कलेजकी फ्रेसम्यान (पहिलो वर्षकी विद्यार्थी) एनीलाई गत नोभेम्बरमा ‘थ्याङ्क्सगिभिङ’ बिदा मनाउन टेक्सास जाने क्रममा बोस्टन विमानस्थलबाट पक्राउ गरी होन्डुरस पठाइएको थियो।

ट्रम्प प्रशासनले एनीलाई गल्तीवश देश निकाला गरेको स्वीकार गरे पनि उनलाई फिर्ता ल्याउन कुनै पहल नगरेपछि अदालतले नै हस्तक्षेप गरेको हो। न्यायाधीश स्टर्न्सले भने, “यो विषय कार्यपालिकाले मात्र निर्णय गर्ने होइन, उनको अधिकार र देशनिकालाको वैधानिकता अदालतले तय गर्छ।”

एनी सन् २०१४ मा अमेरिका छिरेकी थिइन्। होमल्याण्ड सेक्युरिटीका अनुसार सन् २०१५ मै अध्यागमन न्यायाधीशले उनलाई देश निकालाको आदेश दिएका थिए। तर, एनीले भने आफ्ना अघिल्ला वकिलले त्यस्तो कुनै आदेश नभएको बताएको दाबी गरेकी छन्। कुनै आपराधिक रेकर्ड नभएकी उनी अहिले होन्डुरसमा हजुरबुवा-हजुरआमासँग बसिरहेकी छन् र अनलाइन माध्यमबाट कलेजको पढाइलाई निरन्तरता दिइरहेकी छन्।

एनीका वकिल टड पोमेरलेउले अदालतको आदेशको स्वागत गर्दै एनी एक साहसी युवती भएको र उनी न्यायको हकदार रहेको बताए।