२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अध्यागमन मुद्दामा सहमति नजुट्दा सटडाउन, टीएसए कर्मचारी तलबविहीन, यात्रु मर्कामा पर्ने सम्भावना

अध्यागमन मुद्दामा सहमति नजुट्दा सटडाउन, टीएसए कर्मचारी तलबविहीन, यात्रु मर्कामा पर्ने सम्भावना

न्युयोर्क – शनिबार बिहानैदेखि अमेरिकाको ‘होमल्याण्ड सेक्युरिटी’ विभागमा बजेट अभावका कारण ‘सटडाउन’ (सरकारी कामकाज आंशिक बन्द) सुरु भएको छ। यसको प्रत्यक्ष असर अमेरिकाभरका विमानस्थलमा परेको छ। विमानस्थलमा यात्रु र सरसामान जाँच गर्ने ‘टीएसए’का कर्मचारीहरूले अब तलब नपाई काम गर्नुपर्ने भएको छ।

होमल्याण्ड सेक्युरिटीको बजेट पास नभए पनि अन्य सरकारी निकायको बजेट भने सेप्टेम्बरसम्मका लागि पास भइसकेको छ। त्यसैले हवाई ट्राफिक नियन्त्रकहरूले तलब पाउनेछन् र उडान नै रद्ध हुने जोखिम भने कम छ। तर, तलब नपाउने भएपछि टीएसएका कर्मचारीहरू काममा नआउन सक्ने र यसले विमानस्थलमा लामो लाइन लाग्न सक्ने बताइएको छ।

मिनेसोटामा दुई जनाको गोली लागि मृत्यु भएको घटनापछि डेमोक्र्याट सांसदहरूले अध्यागमन सुरक्षामा कडा नियमको माग गरेका छन्। यही विषयमा ह्वाइट हाउससँग कुरा नमिलेपछि बजेट रोकिएको हो। सांसदहरू अहिले १० दिनको बिदामा छन्। यो बन्द लम्बिएमा वसन्त ऋतुको बिदा मनाउन हिँड्ने यात्रुहरू मर्कामा पर्नेछन्।