महाशिवरात्रिमा पशुपति जानेलाई प्रहरीको १३ बुँदे आग्रह: महँगा गहना र क्यामेरा नलानू
- ०२ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर जाने भक्तजनहरूका लागि १३ बुँदे विशेष अनुरोध सार्वजनिक गरेको छ। आइतबार पर्ने महाशिवरात्रिमा हुने अत्यधिक भीडलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा र व्यवस्थापनमा कडाइ गरेको हो।
प्रहरीले दर्शनार्थीलाई बहुमूल्य गरगहना लगाएर नआउन र महँगा सामान साथमा नबोक्न आग्रह गरेको छ। मन्दिर क्षेत्रमा प्लास्टिकका झोला, कप, प्लेट र सिसाका भाँडाको प्रयोगमा पूर्ण रोक लगाइएको छ। यस्तै, मन्दिर प्राङ्गणभित्र मोबाइल, क्यामेरा तथा छालाका जुत्ता, चप्पल, ज्याकेट र पेटी लैजान पाइने छैन।
सबैले लाइनमा बसेरै दर्शन गर्नुपर्ने र कुनै विशेष पासको व्यवस्था नभएको प्रहरीले स्पष्ट पारेको छ। अशक्त र ज्येष्ठ नागरिकलाई सहयोग गर्न तथा पाकेटमारबाट बच्न सचेत गराइएको छ। यस वर्षको महाशिवरात्रिमा करिब ८ लाख दर्शनार्थी र ४ हजार साधुसन्त आउने अनुमान गरिएको छ।