२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

आप्रवासन एजेन्ट देखेपछि स्कुल बस कुरिरहेका विद्यार्थीको भागाभाग

आप्रवासन एजेन्ट देखेपछि स्कुल बस कुरिरहेका विद्यार्थीको भागाभाग

न्युयोर्क – अमेरिकाको न्यु जर्सी राज्यमा एउटा दुखद घटना भएको छ। त्यहाँको लिन्डेनवोल्डमा स्कुल बस कुरिरहेका साना विद्यार्थीहरू आप्रवासन अधिकारीलाई देखेर डराएर भागेका छन्।

बिहीबार बिहान वुडल्याण्ड भिलेज अपार्टमेन्ट नजिकै ४ र ५ कक्षामा पढ्ने विद्यार्थीहरू स्कुल जान बस कुरिरहेका थिए। त्यही बेला आप्रवासन तथा भन्सार कार्यान्वयनका एजेन्टहरू छापा मार्न त्यहाँ पुगे। एजेन्ट र उनीहरूको गाडी देख्नासाथ साना विद्यार्थीहरू डरले तितरवितर भएर भागेको भिडियो सार्वजनिक भएको छ।

१० वर्षीय ह्युगो कुएलोले बताए अनुसार, एजेन्टहरू उनका बुबालाई खोज्न त्यहाँ आएका थिए। आमासँगै उभिएका ह्युगोले एजेन्टको गाडी देख्नासाथ साथीहरूलाई ‘आइस आयो’ भन्दै भाग्न इसारा गरेका थिए। अर्की विद्यार्थी भ्यालेरी पाचेकोले आफ्ना साथीहरू आमाबुबा बिना देश छोड्नुपर्ने डरले रोएको बताइन्।

विद्यार्थीहरू डराएर यताउति भागेपछि बस चालकले निकै सतर्कता अपनाए। उनले पटक-पटक बस घुमाएर सबै विद्यार्थीलाई सुरक्षित रूपमा बसमा चढाएर स्कुल पुर्‍याए। डराएका विद्यार्थीलाई सामान्य अवस्थामा फर्काउन स्कुलले परामर्शदाताको व्यवस्था गरेको छ।

यस घटनाको क्याम्डेन काउन्टीका कमिस्नरहरूले कडा आलोचना गरेका छन्। कमिस्नर जोनाथन योङले ४४ जना साना बालबालिकाका अगाडि यस्तो ‘निर्दयी अपरेसन’ चलाउनु गलत भएको बताए। उनले ट्रम्प प्रशासनमा आइसको कारबाही अमानवीय बन्दै गएको र बालबालिकालाई आतंकित बनाएको आरोप लगाए।