२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

ट्रम्पले ओबामा दम्पतीलाई ‘ढेडु’ बनाएको भिडियो सेयर गरेपछि हङ्गामा: ओबामाले भने- ‘लाज पचेछ’

ट्रम्पले ओबामा दम्पतीलाई ‘ढेडु’ बनाएको भिडियो सेयर गरेपछि हङ्गामा: ओबामाले भने- ‘लाज पचेछ’

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेललाई ‘ढेडु’ (बाँदर) को रूपमा देखाइएको एउटा भिडियो सेयर गरेपछि अमेरिकामा ठुलो विवाद भएको छ।

ट्रम्पको सामाजिक सञ्जालमा ‘द लायन स्लिप्स टुनाइट’ गीतको धुनमा ओबामा दम्पतीलाई बाँदरको रूपमा देखाइएको भिडियो पोस्ट भएको थियो। यसमा सन् २०२० को चुनावमा धाँधली भएको दाबी पनि गरिएको थियो। चौतर्फी आलोचनापछि ह्वाइट हाउसले कर्मचारीको गल्ती भन्दै उक्त पोस्ट हटाएको छ। ट्रम्पले भने आफूले भिडियोको त्यो भाग नदेखेको भन्दै माफी माग्न अस्वीकार गरे।

यो घटनाबारे ओबामाले एक पोडकास्टमा बोल्दै सार्वजनिक पदमा बस्नेहरूको ‘लज्जा र मर्यादा’ हराएको टिप्पणी गरेका छन्। उनले ट्रम्पको नाम नलिई भने, “अहिले सामाजिक सञ्जाल र टिभीमा एउटा तमासा चलिरहेको छ। पहिले पदको मर्यादा र शिष्टता हुन्थ्यो, तर अहिलेका मानिसमा कुनै लाज बाँकी देखिएन।”

रिपब्लिकन पार्टीका एकमात्र अश्वेत सिनेटर टिम स्कटले पनि यसलाई ह्वाइट हाउसबाट भएको अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरको रंगभेदी काम भनेर निन्दा गरेका छन्।