५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

अमेरिकामा सरकारी कामकाज ठप्प: डेमोक्र्याट र रिपब्लिकनको लडाइँले कर्मचारीको तलब रोकिने

अमेरिकामा सरकारी कामकाज ठप्प: डेमोक्र्याट र रिपब्लिकनको लडाइँले कर्मचारीको तलब रोकिने

वासिङ्टन- अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागको बजेट रोकिँदा सरकारी कामकाज आंशिक रूपमा बन्द भएको छ। शनिबारदेखि सुरु भएको यो बन्द तत्काल खुल्ने छाँटकाँट छैन। सांसदहरू र ह्वाइट हाउस आ–आफ्नै अडानमा छन्।

डेमोक्र्याटहरूले अध्यागमन अधिकारीहरूमाथि कडा निगरानीको माग गरेका छन्। गत महिना मिनेसोटामा सुरक्षाकर्मीको गोलीबाट दुई अमेरिकी नागरिक— एलेक्स प्रीति र रेनी गुड—को मृत्यु भएपछि उनीहरूले यस्तो सर्त राखेका हुन्। उनीहरूको माग छ कि एजेन्टहरूले अपरेसनका बेला मास्क लगाउन नपाऊन्, शरीरमा क्यामेरा जडान गरुन्, परिचय पत्र स्पष्ट देखाऊन् र निजी घरमा पस्न अदालतको वारेन्ट अनिवार्य होस्।

ह्वाइट हाउसका ‘बोर्डर जार’ टम होमनले भने यो माग अस्वीकार गरेका छन्। सुरक्षाकर्मीको सुरक्षाका लागि मास्क आवश्यक भएको उनको तर्क छ। रिपब्लिकन सिनेटरहरूले एजेन्टको अनुहार देखाउँदा उनीहरूको परिवारमाथि खतरा हुन सक्ने बताएका छन्।

यो बन्दका कारण टीएसए , कोस्ट गार्ड र सिक्रेट सर्भिसका करिब ९० प्रतिशत कर्मचारीले तलब नपाई काम गर्नुपर्ने भएको छ। तर, आप्रवासी समात्ने ‘आइस’ को काम भने रोकिने छैन किनकि उनीहरूसँग पहिलेकै बजेट बाँकी छ।

ट्रम्प प्रशासनले सत्ता सम्हालेयता ६ लाख ७५ हजार आप्रवासीलाई देश निकाला गरिसकेको दाबी गरेको छ। साथै, कडा नीतिका कारण २२ लाख मानिस आफैँ देश छोडेर गएको सरकारको भनाइ छ। कंग्रेस (संसद) फेब्रुअरी २३ सम्म बिदामा रहेकाले यो समस्या लम्बिने देखिन्छ।