हक्की खेलमा गोली चल्यो: सुटरसहित ३ जनाको मृत्यु, ३ गम्भीर घाइते
- ०५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – रोड आइल्याण्ड राज्यमा भइरहेको हाइस्कुल हक्की खेलका क्रममा गोली चल्दा ३ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भएको यो घटनामा ३ जना गम्भीर घाइते भएका छन्।
पावटुकेट प्रहरीका अनुसार डेनिस एम. लिन्च एरिनामा खेल चलिरहँदा एक व्यक्तिले गोली चलाएका हुन्। गोली लागेर दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने व्यक्ति (सुटर) पनि मृत फेला परेका छन्। प्रहरीले सुटरले आफैँलाई गोली हानेर आत्महत्या गरेको अनुमान गरेको छ।
प्रहरी प्रमुख टिना गोन्साल्भ्सले यो घटना पारिवारिक विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइन्। “यो एउटा परिवारभित्रको विवाद जस्तो देखिन्छ, जसमा बाहिरी मानिसलाई निसाना बनाइएको थिएन,” उनले भनिन्। घाइते भएका अन्य ३ जनाको अवस्था चिन्ताजनक छ।
गोली चल्दा कोभेन्ट्री-जोन्स्टन र सेन्ट राफेल-प्रोभिडेन्स कन्ट्री डे बिच खेल भइरहेको थियो। खेलको अनलाइन लाइभ भइरहेकाले गोली चलेको आवाज र मानिसहरूको भागदौड भिडियोमा रेकर्ड भएको छ। भिडियोमा खेलाडीहरू ज्यान जोगाउन बेन्चमुनि लुकेको र दर्शकहरू बाहिर भागेको देखिन्छ।
घटनापछि गभर्नर ड्यान म्याकीले दु:ख व्यक्त गर्दै राज्य फेरि शोकमा डुबेको बताएका छन्। यसअघि डिसेम्बरमा पनि ब्राउन युनिभर्सिटीमा गोली काण्ड भएको थियो। सिनेटर ज्याक रिडले गोली चलाउने व्यक्तिलाई रोक्न एक जनाले साहस गरेको बताएका छन्। विद्यालयले भने आफ्ना विद्यार्थी र कर्मचारी सुरक्षित रहेको जनाएको छ।