विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने महिलासहित ४ जना पक्राउ
- ०५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई ६५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक महिलासहित चार जनालाई पक्राउ गरेको छ। विभिन्न देश पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएका उनीहरूलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा झापा, काठमाडौँ र गोरखाका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये काठमाडौँ तार्केश्वरकी ३५ वर्षीया निमा डोल्मा लामाले बेलायत पठाइदिने भन्दै सबैभन्दा धेरै ५० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ।
त्यस्तै, गोरखाका ४३ वर्षीय सुरजबहादुर श्रेष्ठले रोमानिया पठाउने भन्दै ७ लाख ५० हजार, झापाका ५१ वर्षीय धर्मप्रसाद राईले अष्ट्रिया पठाउने भन्दै ५ लाख ८५ हजार र झापाकै ४२ वर्षीय गोविन्दप्रसाद निरौलाले टर्की पठाउने भन्दै २ लाख ३ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।