२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

‘भिडियो’ का लागि १० वर्षे बालकको अपहरण, २ लाख फिरौती माग्ने ८ ‘युट्युबर’ पक्राउ

‘भिडियो’ का लागि १० वर्षे बालकको अपहरण, २ लाख फिरौती माग्ने ८ ‘युट्युबर’ पक्राउ

भारत- भारतको उत्तर प्रदेशस्थित कानपुरमा भिडियो बनाउने निहुँमा १० वर्षीय बालकलाई अपहरण गरी फिरौती माग्ने ८ जना ‘युट्युबर’ पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भाइरल हुन उनीहरूले बालकको अपहरण गरेको नाटक गर्दै परिवारसँग २ लाख रुपैयाँ माग गरेका थिए।

घटना गत बुधबार साँझको हो। १० वर्षीय हर्षल घर नजिकै तरकारी किन्न जाँदा दुई युवकले उनलाई ललाइफकाई एकान्तमा लगेका थिए। त्यसपछि अपहरणकारीले बालकलाई डर देखाई उनकी आमालाई फोन गर्न लगाए। फोनमा बालकले रुँदै आफू अपहरणमा परेको र रिहाइको लागि २ लाख रुपैयाँ चाहिएको बताएपछि परिवारमा रुवाबासी चलेको थियो।

त्यसको करिब २५ मिनेटपछि अपहरणकारीले अर्को नम्बरबाट फोन गर्दै ५ हजार रुपैयाँ लिएर स्थानीय एक विद्यालय नजिक आउन भने। तर, राति करिब १० बजेतिर उनीहरूले आफूहरू युट्युबर भएको र भिडियोका लागि ‘प्र्याङ्क’ (मजाक) मात्र गरेको भन्दै बालकलाई छाडिदिएका थिए। घटना मजाक भए पनि परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको थियो।

प्रहरीले करिब ४८ घण्टाभित्र १५० भन्दा बढी सीसीटीभी फुटेज जाँच गरेपछि ३ नाबालकसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अरविन्द सिंह, चन्दन कुमार, लक्की, मोहम्मद शाहिद र अमन कटियार लगायत छन्। उनीहरूले गल्ती स्वीकार गर्दै माफी मागे पनि प्रहरीले अपहरण र त्रास फैलाएको अभियोगमा मुद्दा दर्ता गरेको छ। उनीहरूको सामाजिक सञ्जालमा १५० भन्दा बढी आपत्तिजनक भिडियोहरू फेला परेको प्रहरीले जनाएको छ।