रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नहुने: अदालतले भन्यो- ‘सर्वोच्चको आदेश कुर्नू’
- ०५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं- कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता लिन अस्वीकार गरेको छ। महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गरे पनि जिल्ला अदालतले तत्कालका लागि उक्त प्रक्रिया ‘होल्ड’ मा राख्ने आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धका यी दुई मुद्दा फिर्ताका लागि दिएको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नितिश राईको इजलासले यस्तो आदेश सुनाएको हो। महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पनि रिट परेकाले सर्वोच्चको आदेश नआउन्जेल जिल्ला अदालतले कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ। अदालतका स्रेस्तेदार राजन खनालले मुद्दा फिर्ता गर्ने वा नगर्ने भन्ने निर्णय नभई सर्वोच्चको आदेश नआएसम्मका लागि यथावत राख्ने आदेश भएको जानकारी दिए।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो। तर, महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते सहकारी ठगीको मुद्दा मात्र राखेर बाँकी दुई मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। अब सर्वोच्च अदालतको फैसलापछि मात्र यसको टुंगो लाग्नेछ।