विश्वकपबाट बाहिरिसकेको नेपाल आज स्कटल्यान्डसँग भिड्दै, सुखद् अन्त्यको खोजी
- ०५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
मुम्बई (भारत)- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिसकेको नेपाली टोलीले आज (मंगलबार) स्कटल्यान्डसँग खेल्दैछ। मुम्बईको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ।
लगातार तीन खेल हारेर ‘सुपर ८’ को दौडबाट बाहिरिसकेको नेपाल आजको अन्तिम खेल जितेर सुखद् विदाई चाहन्छ। नेपाल यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग फराकिलो अन्तरले पराजित भएको थियो।
उता, स्कटल्यान्ड पनि सुपर ८ बाट बाहिरिसकेको छ। सोमबार इंग्ल्यान्डले इटालीलाई हराएपछि स्कटल्यान्डको सम्भावना सकिएको हो। यो समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्ड अघिल्लो चरणमा पुगेका छन्। आजै क्यानडा र न्युजिल्यान्ड तथा जिम्बाबे र आयरल्यान्डबिच पनि खेल हुँदैछ। विश्वकपमा अहिलेसम्म भारत, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्ड गरी ५ टोली सुपर ८ मा पुगिसकेका छन्।