२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चेक बाउन्स मुद्दामा जेल परेका राजपाल यादव जमानतमा रिहा

चेक बाउन्स मुद्दामा जेल परेका राजपाल यादव जमानतमा रिहा

नयाँ दिल्ली (भारत)- चेक बाउन्स मुद्दामा तिहाड जेलमा रहेका बलिउड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले अन्तरिम जमानत दिएको छ। अदालतको आदेशसँगै उनी आगामी मार्च १८ सम्मका लागि जेलमुक्त भएका छन्।

न्यायाधीश स्वरण कान्त शर्माको इजलासले मानवीय आधारमा यो फैसला सुनाएको हो। यादवकी भान्जीको विवाह फेब्रुअरी १९ मा तय भएको र नजिकिँदै गरेको होली पर्वलाई मध्यनजर गर्दै अदालतले उनलाई राहत दिएको छ। तर, यसका लागि उनले उजुरीकर्तालाई तत्काल डेढ करोड भारतीय रुपैयाँ र १ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने सर्त अदालतले राखेको थियो। तोकिएको रकम बुझाएपछि उनी रिहा भएका हुन्।

यो मुद्दा सन् २०१० को फिल्म ‘आता पता लापता’ बनाउँदा लिएको ऋणसँग जोडिएको छ। यादवले ५ करोड ऋण लिएकोमा ९ करोड तिर्न बाँकी थियो। ऋण तिर्न दिएको चेक बाउन्स भएपछि उनी कानुनी फन्दामा परेका हुन्। अदालतले आत्मसमर्पण गर्न समय दिएपछि उनी गत फेब्रुअरी ५ मा तिहाड जेल पुगेका थिए। अब उनले मार्च १८ मा हुने अर्को सुनुवाइमा अनिवार्य उपस्थित हुनुपर्नेछ।