न्यान्सी गुथ्री बेपत्ता प्रकरण : पन्जामा भेटिएको डिएनए मिलेन, वालमार्टको झोलाबाट अपराधी पत्ता लाग्ने आशा
- ०६ फाल्गुन २०८२
- १ मिनेटको पढाई
एरिजोना- चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता सभाना गुथ्रीकी ८४ वर्षीया आमा न्यान्सी गुथ्री हराएको तीन साता बितिसक्दा पनि प्रहरीले कुनै ठोस सुराक फेला पार्न सकेको छैन। अनुसन्धानका क्रममा घरभन्दा करिब दुई माइल पर भेटिएको पन्जाबाट निकालिएको डिएनए परीक्षण गर्दा कुनै ‘म्याच’ नभेटिएपछि प्रहरी निराश बनेको छ।
पिमा काउन्टी सेरिफ कार्यालयका अनुसार उक्त पन्जाको डिएनए एफबीआईको डाटाबेससँग मेल खाएन। साथै, न्यान्सीको घरमा भेटिएको डिएनएसँग पनि यसको मिलान हुन सकेन। सेरिफ क्रिस नानोसले अब आफूहरूको ध्यान घरभित्रै भेटिएको आंशिक डिएनए र वंशाणुगत परीक्षण (जिनियोलोजी) तर्फ केन्द्रित भएको बताएका छन्। उनले टाढा भेटिएको पन्जाभन्दा घरभित्रका प्रमाण बढी महत्त्वपूर्ण हुने र त्यसबाटै अपराधीको पहिचान खुल्न सक्ने बताए।
प्रहरीले संदिग्ध व्यक्तिले बोकेको झोला (ब्याप्याक) लाई अहिले मुख्य सुराक मानेको छ। यो झोला वालमार्टमा मात्र पाइने भएकाले पछिल्लो ३० देखि ६० दिनभित्र यो झोला किन्नेहरूको विवरण प्रहरीले खोजिरहेको छ। यसबाट क्रेडिट कार्ड वा बैंक रेकर्डमार्फत अपराधी पत्ता लाग्ने आशा गरिएको छ। साथै, भिडियोमा देखिएको व्यक्तिले बोकेको बन्दुकको खोल (होल्स्टर) निकै अनौठो प्रकारको रहेकाले प्रहरीले बन्दुक पसलहरूमा सोधपुछ तीव्र बनाएको छ। भिडियोमा देखिएको व्यक्तिले औँठी लगाएको हुन सक्ने अनुमान पनि प्रहरीको छ।
प्रहरीले अहिलेसम्म ४० देखि ५० हजार सूचनाहरू (लिड्स) प्राप्त गरिसकेको छ। यसैबिच, मिलवाकी क्राइम स्टपर्सका अध्यक्षले न्यान्सीको अवस्थाबारे सूचना दिनेलाई आफ्नो व्यक्तिगत तर्फबाट एक लाख डलर (करिब १ करोड ३० लाख रुपैयाँ) पुरस्कार दिने घोषणा गरेका छन्। अनुसन्धान चलिरहँदा नक्कली फिरौती माग्ने डेरिक केलेला नामका व्यक्तिलाई अदालतमा पेस गरिएको छ। प्रहरीले न्यान्सीले मुटुमा राखेको ‘पेसमेकर’ को खोजी पनि जारी राखेको छ भने उनका परिवारका सदस्यहरूलाई शङ्काको घेराबाट मुक्त गरिसकेको छ।