न्युयोर्कका मेयरको चेतावनी: धनीलाई कर नलगाए घरजग्गा कर साढे ९ प्रतिशतले बढ्ने
- ०६ फाल्गुन २०८२
- २ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क सिटीका मेयर जोहरान मामदानीले सहरको बजेट घाटा पूर्ति गर्न राज्य सरकारले धनाढ्यहरूमाथि कर नबढाए आम नागरिकको सम्पत्ति कर (पपर्टी ट्याक्स) ९.५ प्रतिशतले बढाउने चेतावनी दिएका छन्। मङ्गलबार आफ्नो प्रारम्भिक बजेट योजना सार्वजनिक गर्दै मेयर मामदानीले ५.४ अर्ब डलरको बजेट अभाव टार्न आफूसँग दुईवटा मात्र विकल्प रहेको बताएका हुन्।
मेयरका अनुसार पहिलो र उनले चाहेको विकल्प भनेको अल्बानी (राज्य सरकार) ले न्युयोर्कका सबैभन्दा धनी व्यक्तिहरूमाथि कर बढाउनु हो। यदि गभर्नर क्याथी होचुल र राज्य संसद्ले यसलाई अस्वीकार गरेमा सहरले बाध्य भएर दोस्रो विकल्प रोज्नुपर्नेछ, जुन करिब दुई दशकपछि पहिलो पटक सम्पत्ति कर वृद्धि हुनेछ। मेयरले सम्पत्ति कर ९.५ प्रतिशतले बढाउँदा सहरलाई ३.७ अर्ब डलर आम्दानी हुने हिसाब सुनाएका छन्। अन्तिम पटक पूर्वमेयर माइकल ब्लुमबर्गको पालामा न्युयोर्कमा सम्पत्ति कर बढाइएको थियो।
मङ्गलबारको पत्रकार सम्मेलनमा बोल्दै मेयर मामदानीले भने, “यदि हामी पहिलो बाटोमा जान सकेनौँ भने सहर बाध्य भएर दोस्रो र अझ कष्टकर बाटोमा जानुपर्नेछ। हामीसँग अर्को कुनै विकल्प हुने छैन, हामीले सम्पत्ति कर बढाउनुपर्नेछ र सञ्चित कोष चलाउनुपर्नेछ।” उनले यो दोस्रो विकल्प ‘अन्तिम उपाय’ मात्र भएको बताएका छन्। सम्पत्ति कर नै सहरको आम्दानीको सबैभन्दा ठुलो स्रोत हो र यो बढाउने अधिकार सहरसँग सुरक्षित छ।
यता, न्युयोर्ककी गभर्नर क्याथी होचुलले भने मेयरको यो प्रस्तावमा असहमति जनाएकी छन्। उनले कर बढाउनुको साटो खर्च कटौती र फजुल खर्च नियन्त्रण गर्नुपर्ने सुझाव दिएकी छन्। गभर्नरले भर्खरै सहरको बजेट घाटा कम गर्न थप १.५ अर्ब डलर सहयोग गर्ने घोषणा गरेकी थिइन्। उनले भनिन्, “म सम्पत्ति कर वृद्धिको पक्षमा छैन, मलाई लाग्दैन कि यो आवश्यक छ।”
मेयरको यो प्रस्तावको सिटी काउन्सिल र अन्य जनप्रतिनिधिहरूले पनि विरोध गरेका छन्। क्विन्सका बोरो प्रेसिडेन्ट डोनोभान रिचर्डसले कर वृद्धिले मानिसहरूलाई घरबारविहीन बनाउन सक्ने चिन्ता व्यक्त गरे। सिटी काउन्सिलकी सभामुख जुली मेनिनले पनि सम्पत्ति कर बढाउने कुरा सोच्न पनि नसकिने बताएकी छन्। तर, मेयर मामदानीले भने कानुनी रूपमा बजेट सन्तुलन गर्नुपर्ने बाध्यता रहेकाले यदि धनीलाई कर नलगाउने हो भने आम जनताले यसको भार बोक्नुपर्ने बताएका छन्। पब्लिक एड्भोकेट जुमानी विलियम्सले भने गभर्नरले धनीहरूको मात्र नभई आम न्युयोर्कवासीको बारेमा सोच्नुपर्ने भन्दै मेयरको पहिलो विकल्पको समर्थन गरेका छन्।