२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकाद्वारा इरानमाथि आक्रमणको तयारी: मध्यपूर्वमा सन् २००३ पछिकै ठुलो फौज तैनाथ

अमेरिकाद्वारा इरानमाथि आक्रमणको तयारी: मध्यपूर्वमा सन् २००३ पछिकै ठुलो फौज तैनाथ

न्युयोर्क – अमेरिकी सेनाले यसै साता इरानमाथि आक्रमण गर्ने तयारी गरेको छ। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय भने गरिसकेका छैनन्। सम्भावित आक्रमणलाई लक्षित गर्दै अमेरिकाले मध्यपूर्वमा सन् २००३ को इराक युद्धपछिकै सबैभन्दा ठुलो वायु सेना तैनाथ गरेको छ। यसमा एफ–३५, एफ–२२ लगायतका अत्याधुनिक लडाकु विमानहरू राखिएका छन्।

बुधबार ह्वाइट हाउसमा बसेको सुरक्षा अधिकारीहरूको बैठकमा जेनेभामा इरानसँग भएको अप्रत्यक्ष वार्ताबारे ट्रम्पलाई जानकारी गराइएको थियो। वार्ताबाट ठोस निष्कर्ष ननिस्किए पनि केही विषयमा सहमति भएको बताइएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कूटनीति पहिलो विकल्प भए पनि सैन्य कारबाहीको बाटो खुला रहेको स्पष्ट पारेकी छन्। यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो फेब्रुअरी २८ मा इजरायल जाने कार्यक्रम छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमण भएमा यो धेरै हप्तासम्म चल्नेछ र इरानका आणविक तथा क्षेप्यास्त्र पूर्वाधारलाई निसाना बनाइनेछ। यसै साताको अन्त्यसम्ममा अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक जहाज ‘युएसएस जेराल्ड आर फोर्ड’ पनि मध्यपूर्व पुग्दैछ। उता, सम्भावित आक्रमणबाट बच्न इरानले पनि आफ्ना आणविक केन्द्रहरूलाई माटो र कंक्रिटले पुर्दै सुरक्षा कडा पारेको छ। अहिले रमजान महिना सुरु भइसकेकाले सैन्य कारबाही गर्दा मध्यपूर्वमा थप अशान्ति बढ्न सक्ने चिन्ता अमेरिकाका सहयोगी राष्ट्रहरूले व्यक्त गरेका छन्।