क्यालिफोर्नियामा हिमपहिरो: ८ स्की खेलाडीको मृत्यु, १ बेपत्ता
- ०७ फाल्गुन २०८२
- १ मिनेटको पढाई
क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियास्थित ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा परी ८ जना स्की खेलाडीको मृत्यु भएको छ। मङ्गलबार बिहान क्यासल पिक क्षेत्रमा गएको हिमपहिरोमा हराइरहेका ९ मध्ये ८ जनाको शव भेटिएको हो भने एक जना अझै बेपत्ता छन्।
घटनाका बेला ११ जना ग्राहक र ४ जना गाइडसहितको टोली आधार शिविरतर्फ फर्कँदै थियो। हिमपहिरो गएलगत्तै ६ जनाको जीवितै उद्धार गरिएको थियो, जसमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ। नेभाडा काउन्टीका शेरिफ सानान मुनले आँधी, तीव्र हावा र बाक्लो हिमपातका कारण बेपत्ता रहेका एक जनाको खोजी गर्न अत्यन्तै कठिन भइरहेको बताए। चालीसभन्दा बढी उद्धारकर्मी खटिए पनि खराब मौसमले काममा अवरोध पुर्याएको छ।
स्थानीय सुगर बाउल एकेडेमीले मृतकहरूमध्ये केही आफ्नै विद्यालयसँग जोडिएको जनाएको छ। राष्ट्रिय मौसम सेवाले सिएरा नेभाडा पर्वत शृङ्खलामा ८ फिटसम्म हिमपात हुन सक्ने चेतावनी दिएको छ। प्लेसर काउन्टीका शेरिफ वेन वूले मौसममा सुधार नआएसम्म पहाडी क्षेत्रमा नजान आग्रह गरे। घटनाबारे क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमलाई पनि जानकारी गराइएको छ।