University of Fairfax ले नेपाली मूलका डा. राजन थपलियालाई कम्प्युटर साइन्स, साइबर सुरक्षा तथा सूचना प्रविधि विभागको सहायक डीन पदमा नियुक्त गरेको छ। उनले फेब्रुअरी १५, २०२६ देखि आफ्नो नयाँ जिम्मेवारी सम्हालेका हुन ।
डा. थपलिया कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), डेटा साइन्स तथा कम्प्युटर साइन्स क्षेत्रमा एक अब्बल ब्याक्तित्वको रूपमा परिचित छन्। फेयर फ्याक्समा आबद्ध हुनुअघि उनी Golden Gate University मा डिजिटल तथा कम्प्युटर साइन्स विषयको डक्टरेट (DBA) कार्यक्रमका कार्यक्रम अध्यक्ष (Program Chair) का रूपमा समेत कार्यरत थिए।
उनको विषयगत विज्ञाताको उचाइले नेपाली डायस्पोराको थप कद बढाएको महसुस गरिएको छ । २७-२८ वर्षकै कलिलो उमेरमा चौध वटा पुस्तक लेखेर सबलाई चकित बनाइसकेका उनै डा थपलियालाई संयुक्त राज्य अमेरिकाका शीर्ष २० मेसिन लर्निङ प्रभावशाली व्यक्तित्वहरू (Top 20 Machine Learning Influencers) मध्ये एकको रूपमा पनि सम्मानित गरिएको थियो।हाल उनी ३३ वर्षीय कलिला डिनको रूपमा समेत चिनिने भएका छन् ।
आफ्नो शैक्षिक यात्रामा डा. थपलियाले अमेरिकाभरिका विश्वविद्यालयहरूमा डेटा साइन्स, कृत्रिम बुद्धिमत्ता तथा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर र विद्यावारिधि तहका कक्षाहरू अध्यापन गरेका छन्। साथै उनले विद्यावारिधि अनुसन्धानकर्ताहरूलाई शोध प्रबन्ध (डिसर्टेसन) अध्यक्ष तथा विषय विशेषज्ञका रूपमा मार्गदर्शन गरेका छन्।
डा. थपलियाले National University बाट डेटा साइन्समा स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका छन्। साथै उनले एमबिए (MBA) र मास्टर अफ पब्लिक हेल्थ (MPH) उपाधि पनि प्राप्त गरेका छन्।
विश्वविद्यालयका अनुसार डा. थपलियाको शैक्षिक नेतृत्व, अध्यापन उत्कृष्टता र परिवर्तनशील दृष्टिकोणले संस्थाको लक्ष्यलाई सुदृढ पार्दै दीर्घकालीन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।