२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा ‘नेपाल डे परेड २०२६’ को तयारी तीव्र: ४० हजारको सहभागिता रहने अनुमान

न्युयोर्कमा ‘नेपाल डे परेड २०२६’ को तयारी तीव्र: ४० हजारको सहभागिता रहने अनुमान

न्युयोर्क- अमेरिकाको न्युयोर्कमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ‘नेपाल डे परेड २०२६’ भव्य रूपमा आयोजना गरिने भएको छ। यसको तयारी तथा छलफलका लागि आगामी फेब्रुअरी २२ तारिखमा बृहत् भेला आयोजना हुँदैछ। उक्त बैठकमा परेडलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरिनुका साथै संयोजक नियुक्त गरिने आयोजकले जनाएको छ।

बैठकबाट कार्यसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरिनेछ। गैरआवासीय नेपाली संघ (एनआरएनए) च्याप्टर अध्यक्ष बासु (दण्डपाणी) लामिछानेका अनुसार परेडमा झण्डै ४० हजार नेपालीको सहभागिता रहने प्रक्षेपण गरिएको छ। यस पटकको परेडमा नेपाली संस्कृति र परम्परा झल्किने झाँकीहरू प्रदर्शन गरिनेछ। यसका लागि अमेरिकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरूको संस्थागत उपस्थिति रहने बताइएको छ।

कार्यक्रममा न्युयोर्कका साथै नजिकका राज्यहरू न्युजर्सी, कनेक्टिकट, मेरिल्याण्ड र म्यासाचुसेट्सबाट पनि ठुलो संख्यामा नेपालीहरू सहभागी हुने लामिछानेले बताए। आयोजकले फेब्रुअरी २२ को भेलामा उपस्थित भएर छलफलमा भाग लिन सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।