२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

प्रेसिडेन्ट डेको अवसरमा यूकेआरओएको नयाँ वेबसाइट सार्वजनिक

प्रेसिडेन्ट डेको अवसरमा यूकेआरओएको नयाँ वेबसाइट सार्वजनिक

शेखर राई, न्युह्याम्पसायर, अमेरिका- अमेरिकामा रहेको युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यूकेआरओए) ले प्रेसिडेन्ट डेको अवसर पारेर आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। संस्थाले भर्चुअल कार्यक्रम गर्दै नयाँ वेबसाइट www.ukroa.org सञ्चालनमा ल्याएको हो।

भर्चुअल कार्यक्रममा संस्थाकी अध्यक्ष समिता राईले वेबसाइटको लोगो र फ्लायर अनावरण गर्दै यसको उद्घाटन गरिन्। कार्यक्रममा उनले वेबसाइट निर्माणमा योगदान पुर्‍याउने कार्यसमिति सदस्य प्रेरणा राई, वेब डिजाइनर जमिन राई, पूर्वअध्यक्ष जयकुमार राई र केन्द्रीय उपाध्यक्ष मुक्तिनारायण राईलाई धन्यवाद दिइन्।

वेबसाइट निर्माण संयोजक प्रेरणा राईले संस्थाको स्थापनादेखि अहिलेसम्मका गतिविधि, सांगठनिक संरचना, आगामी योजना र आर्थिक सहयोगका लागि ‘डोनेसन बक्स’ लगायतका विवरण समेटिएको जानकारी दिइन्। वेब डिजाइनर जमिन राईले सन् २०१९ देखि संस्थासँग जोडिएर काम गर्दाका अनुभव र प्राविधिक पक्षबारे बताए।

सोही अवसरमा प्रेरणा राई र जमिन राईलाई किराती परम्पराअनुसार फेटा, सम्मानपत्र र सायरेम (सम्मान) प्रदान गरियो। वेब डिजाइनर जमिन राईलाई संस्थाका विभिन्न च्याप्टरका अध्यक्षहरूले रकम (सायबुङ) राखेर सम्मान गरे। अध्यक्ष समिता राईसहित कार्यसमितिका अन्य पदाधिकारी र पूर्वअध्यक्षहरूले पनि व्यक्तिगत रूपमा उनलाई सम्मान गरेका थिए।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू र संस्थापक सदस्यहरूले शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन केन्द्रीय उपाध्यक्ष मुक्तिनारायण राईले गरेका थिए।