एन्ड्रयूलाई शाही उत्तराधिकारीको रोलक्रमबाट हटाउन बेलायत सरकारले कानुन ल्याउने
- ०९ फाल्गुन २०८२
- १ मिनेटको पढाई
लन्डन, बेलायत- बेलायत सरकारले राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टब्याटेन-विन्डसरलाई शाही उत्तराधिकारीको सूचीबाट हटाउन विशेष कानुन ल्याउने तयारी गरेको छ। रक्षामन्त्री ल्यूक पोलार्डले बीबीसीसँग कुरा गर्दै प्रहरी अनुसन्धानको परिणाम जे भए पनि एन्ड्रयूलाई उत्तराधिकारीबाट हटाउनु नै उपयुक्त हुने बताए।
गएको अक्टोबरमा ‘राजकुमार’ लगायतका पदवीहरू खोसिए पनि एन्ड्रयू हाल राजगद्दीको रोलक्रममा आठौँ स्थानमा छन्। बाल्ययौन दुराचारी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र पदको दुरुपयोग गरी गोप्य सरकारी दस्ताबेज एप्स्टिनलाई पठाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।
गएको बिहीबार ६६औँ जन्मदिनकै दिन उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ गरिएको थियो। ११ घण्टाको सोधपुछपछि उनलाई अनुसन्धानकै दायरामा रहने गरी रिहा गरिएको छ। यसै बीच, शनिबार विन्डसरस्थित उनको पुरानो निवास ‘रोयल लज’ मा प्रहरीले व्यापक खानतलासी गरेको छ।
सरकारले यो कानुन निर्माणका लागि बकिंघम प्यालेससँग सहकार्य गरिरहेको र यसमा सबै राजनीतिक दलहरूको समर्थन रहने विश्वास व्यक्त गरेको छ। एन्ड्रयूलाई रोलक्रमबाट हटाउन बेलायतको संसदले कानुन पारित गर्नुपर्नेछ भने राजा चार्ल्स राष्ट्रप्रमुख रहेका अन्य १४ कमनवेल्थ राष्ट्रहरूको पनि सहमति आवश्यक पर्नेछ।
एन्ड्रयूले भने आफूले कुनै पनि गलत कार्य नगरेको दाबी गर्दै आएका छन्। बेलायती राजपरिवारको आधुनिक इतिहासमा वरिष्ठ सदस्य पक्राउ परेको यो पहिलो घटना हो, जसले राजसंस्थालाई नै संकटमा पारेको विश्लेषण गरिएको छ।