२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

टेक्ससमा अमेरिकी नागरिकको मृत्यु: संघीय एजेन्टले गोली हानेको खुलासा

टेक्ससमा अमेरिकी नागरिकको मृत्यु: संघीय एजेन्टले गोली हानेको खुलासा

वासिङ्टन- गत वर्ष टेक्ससमा एक २३ वर्षीय अमेरिकी नागरिकको मृत्यु संघीय अध्यागमन एजेन्टको गोली लागेर भएको नयाँ तथ्य सार्वजनिक भएको छ। सुरुमा गोप्य राखिएको उक्त घटनाबारे ‘अमेरिकन ओभरसाइट’ नामक संस्थाले प्राप्त गरेको आन्तरिक दस्ताबेजबाट यो खुलासा भएको हो।

गएको सन् २०२५ मार्च १५ मा साउथ पाड्रे आइल्याण्डमा भएको उक्त घटनामा २३ वर्षीय रुबेन रे मार्टिनेजको ज्यान गएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अध्यागमन कडाइका क्रममा भएका कम्तीमा ६ वटा घातक गोलीकाण्डमध्ये यो सबैभन्दा पहिलो घटना मानिएको छ।

होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा मार्टिनेजले नियतवश आफ्नो सवारी साधनले एजेन्टलाई ठक्कर दिएपछि प्रतिकारमा गोली चलाउनुपरेको दाबी गरेको छ। तर, मार्टिनेजकी आमा रेचेल रेयसले भने आफ्ना छोरा हिंस्रक स्वभावको नभएको र उनी पहिलोपटक साथीसँग बिदा मनाउन समुद्री तटमा गएका बेला उक्त घटना भएको बताइन्।

आन्तरिक रिपोर्ट अनुसार, सो रात होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगसन (एचएसआई) को टोलीले स्थानीय प्रहरीलाई सडक दुर्घटनापछिको ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको थियो। एजेन्टहरूले मार्टिनेजको कारलाई रोक्न आदेश दिएका थिए। सोही क्रममा कारले एक एजेन्टलाई ठक्कर दिएर उनी बोनटमा पुगेपछि अर्का एजेन्टले झ्यालबाट पटक-पटक गोली चलाएका थिए।

यद्यपि, टेक्सस रेन्जर्सले गरेको अनुसन्धानमा भेटिएका भिडियोहरूले संघीय एजेन्टहरूको दाबीलाई चुनौती दिएको बताइएको छ। सुरक्षा विज्ञहरूले पनि गुडिरहेको कारको अगाडि उभिनु प्रहरी तालिम र नियमविपरीत भएको टिप्पणी गरेका छन्। ११ महिनासम्म गोप्य राखिएको यो घटनाबारे अहिले टेक्सस राज्यले ‘सक्रिय’ अनुसन्धान गरिरहेको छ।