२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

जनगणनामा नागरिकता सम्बन्धी प्रश्न: आप्रवासीहरू नसमेटिने भन्दै डेमोक्र्याटको चिन्ता

जनगणनामा नागरिकता सम्बन्धी प्रश्न: आप्रवासीहरू नसमेटिने भन्दै डेमोक्र्याटको चिन्ता

वासिङ्टन- सन् २०३० को जनगणनाका लागि गरिने अभ्यास परीक्षणमा नागरिकता सम्बन्धी प्रश्न समावेश गर्ने अमेरिकी जनगणना ब्युरोको योजनाप्रति डेमोक्र्याटिक सांसदहरूले कडा आपत्ति जनाएका छन्। बिहीबार एक पत्र लेख्दै उनीहरूले यस्तो प्रश्नले आप्रवासीहरूलाई त्रसित बनाउने र जनगणनाको वास्तविक नतिजामा गम्भीर असर पर्ने चेतावनी दिएका हुन्।

हाउस कमिटी अन ओभरसाइट एन्ड गभर्मेन्ट रिफर्मका डेमोक्र्याटहरूले जनगणना ब्युरोलाई ‘अमेरिकन कम्युनिटी सर्भे’ को फारम प्रयोग नगर्न आग्रह गरेका छन्। उक्त फारममा नागरिकता सम्बन्धी प्रश्न समावेश छ। त्यसको सट्टा परम्परागत जनगणना प्रश्नावली प्रयोग गर्न उनीहरूको माग छ। आगामी महिनादेखि अलाबामाको हन्ट्सभिल र साउथ क्यारोलाइनाको स्पार्टनबर्गमा यसको स्थलगत परीक्षण सुरु हुँदैछ।

“ट्रम्प प्रशासनले लाखौँ डलर जोखिममा राखेर यस्तो नीति पछ्याइरहेको छ, जसले सन् २०३० को गणना सुरु हुनुअघि नै यसलाई पूर्ण रूपमा असफल बनाउन सक्छ,” कार्यवाहक जनगणना ब्युरो निर्देशक र वाणिज्य सचिवलाई लेखिएको पत्रमा भनिएको छ।

जनगणनाको तथ्याङ्कका आधारमा कुन राज्यले कति संसदीय सिट र इलेक्टोरल कलेज मत पाउने भन्ने निर्धारण हुन्छ। साथै, वार्षिक २.८ ट्रिलियन डलरको संघीय बजेट वितरण पनि यसैका आधारमा गरिन्छ। डेमोक्र्याटहरूका अनुसार नागरिकताको प्रश्न सोध्दा वैध रूपमा बसिरहेका आप्रवासीहरू पनि निष्कासनको डरले गणनामा सहभागी नहुन सक्छन्, जसले गर्दा जनसंख्या कम देखिने जोखिम रहन्छ।

यसअघि आफ्नो पहिलो कार्यकालमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को जनगणनामा नागरिकताको प्रश्न थप्ने प्रयास गरेका थिए। तर, अमेरिकी सर्वोच्च अदालतले उक्त प्रयासलाई रोकिदिएको थियो। अमेरिकी संविधानको १४औँ संशोधनले राज्यमा रहेका ‘सबै व्यक्ति’ को गणना गर्नुपर्ने व्यवस्था गरेको छ, जसलाई ब्युरोले कानुनी हैसियत जेसुकै भए पनि गणना गर्नुपर्ने रूपमा व्याख्या गर्दै आएको छ।