आईसीईद्वारा हिरासत केन्द्रका लागि गोदाम खरिद: केही मालिकहरू सम्झौताबाट पछि हट्दै
- ०९ फाल्गुन २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आफ्नो ४५ अर्ब डलरको हिरासत केन्द्र विस्तार योजनाअन्तर्गत २० भन्दा बढी सहरका ठूला गोदामहरूलाई निशाना बनाएको छ। स्थानीय तहलाई जानकारी नै नदिई गोप्य रूपमा गोदाम खरिद गर्ने आईसीईको रणनीति सार्वजनिक भएपछि कतिपय स्थानमा स्थानीय समुदायले कडा विरोध जनाएका छन् भने केही गोदाम मालिकहरू सम्झौताबाट पछि हटेका छन्।
एरिजोना:
फिनिक्स नजिकैको सरप्राइजमा ७ करोड डलरमा गोदाम खरिद गरिएको छ, जसलाई थप १५ करोड डलर खर्च गरेर १५ सय बेडको हिरासत केन्द्र बनाइनेछ।
जर्जिया:
सोसल सर्कलमा १२ करोड ८६ लाख डलरमा किनिएको गोदाममा ७ हजार ५ सय देखि १० हजारसम्म थुनुवा राख्ने तयारी छ।
टेक्सास:
एल पासो नजिकैको सोकोरोमा १२ करोड २८ लाख डलर र सान एन्टोनियोमा ६ करोड ६१ लाख डलरमा विशाल गोदामहरू खरिद गरिएका छन्। दुवै सहरका मेयरहरूले यसको विरोध गरेका छन्।
न्यु ह्याम्पसायर:
मेरिमेकमा १५ करोड ८० लाख डलर खर्चेर ५०० बेडको केन्द्र बनाउने योजनामा गभर्नर केली अयोट र संघीय सरकारबीच विवाद बढेको छ।
पछिल्लो समय जनस्तरबाट विरोध बढेपछि र बहिष्कारको धम्की आएपछि केही निजी कम्पनीहरूले सरकारलाई गोदाम बेच्न अस्वीकार गरेका छन्। मिनेसोटाको उडबरी र साकोपी, मिसौरीको कान्सास सिटी, ओक्लाहोमा सिटी, उटाहको साल्ट लेक सिटी र भर्जिनियाको रिचमण्ड क्षेत्रमा गोदाम मालिकहरू सम्झौताबाट पछि हटेका छन्। त्यस्तै, टेक्सासको हचिन्समा एक घरजग्गा कम्पनीले हिरासत केन्द्रका लागि भवन नबेच्ने घोषणा गरेको छ।
न्यु जर्सीको रक्सबरीमा भने स्थानीय सरकारले कर छुटको प्रस्ताव गर्दागर्दै पनि आईसीईले गोदाम खरिद प्रक्रिया पुरा गरिसकेको छ, जसको नगर परिषद्ले कडा प्रतिकार गर्ने बताएको छ।