भर्जिनियामा नेपाली परिवारभित्र विभत्स हत्याकाण्ड: आक्रमणकारी थापाको प्रहरीको गोलीबाट मृत्यु
- १२ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क— भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र सोमवार बिहान बीभत्स हत्याकाण्ड भएका छन्। ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको हत्या गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनको पनि मृत्यु भएका छन्।
बिहान करिब ५:१५ बजे पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेका थिए। ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापालाई छत्रबहादुरले १० इन्च लामो धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
घटनाको समयमा ममताका श्रीमान् ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। भित्र झगडाको आवाज सुनेर ९११ मा फोन गर्दै भित्र पस्दा उनले श्रीमती र सासूलाई रक्ताम्मे अवस्थामा फेला पारे। त्यसलगत्तै छत्रबहादुरले सन्तोषमाथि पनि सोही हतियारले आक्रमण सुरु गरेका थिए।
प्रहरी अधिकारीहरू घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि प्रहार गरिरहेको फेला पारेका थिए। प्रहरीले पटक-पटक हतियार फाल्न दिएको आदेश नमानेपछि एक युवा अधिकारीले गोली चलाउँदा आक्रमणकारी छत्रबहादुरको घटनास्थलमै मृत्यु भएका छन्। फेयरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले उक्त दृश्यलाई “कल्पनाबाहिरको बीभत्स र भयावह” भनी वर्णन गरेका छन्।